

गोविन्द खत्री/सिम्ता । सिम्ता गाउँपालिकाले खानेपानी आयोजनाहरुको अर्धवार्षिक प्रगति प्रतिवेदनसँगै वार्षिक लेखापरीक्षण गराउने व्यवस्थालाई कडाइका साथ लागू गर्न लागेको छ ।
शुक्रबार राकममा सम्पन्न ‘खानेपानी सुचारुपना सम्मेलन’ ले योजनाहरुलाई राम्रोसँग सञ्चालन गरी दिगो रुपमा खानेपानी समस्या समाधान गर्न प्रगति प्रतिवेदनसँगै लेखापरीक्षण अनिवार्य गर्न लागेको हो । खानेपानीका योजना निर्माणसँगै सञ्चालनमा भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न कानुनी, नीतिगत तथा व्यावहारिक व्यवस्थाहरु कार्यान्वयनमा ल्याउन लागिएको छ ।
उपभोक्ता समिति मार्फत निर्माण हुने साना आयोजनाहरुमा ठेकदार राख्न नपाइने र स्थानीय उपभोक्ताकै श्रम तथा प्रत्यक्ष रेखदेख हुनुपर्ने सुझाव सम्मेलनले दिएको हो । सिम्ता गाउँपालिकामा १ सय १९ वटा खानेपानी योजनाबाट ४ हजार ४ सय ४७ वटा धारा वितरण गरिएको छ ।
ती धाराबाट ५ हजार ८ सय ७० घरधुरीलाई खानेपानी सुविधा पुगेको (एनवास) को तथ्यांकले देखाउँछ । यद्यपि ! २०७८ सालको जनगणना अनुसार ६ हजार ६२ घरधुरी रहेको सिम्ता गाउँपालिकामा उक्त तथ्यांकले ९७ प्रतिशत घरधुरीलाई खानेपानी सुविधा पुगेको देखिएको हो ।एनवासको उक्त तथ्यांकमा केही दोहोरोपना रहेको भन्दै अध्यावधिक गर्ने प्रतिबद्धता सम्मेलन मार्फत गरिएको छ ।

९ बुँदे घोषणा–पत्र
पालिकामा खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरुको जवाफदेहिता अभिवृद्धिका लागि आयोजित ‘सुचारुपना सम्मेलन २०८३’ले खानेपानी क्षेत्रको सुधारका लागि महत्वपूर्ण ९ बुँदे घोषणा–पत्र जारी गरेको छ । सम्मेलनमा ‘एनवास’ प्रणालीसहित आफ्नो क्षेत्रभित्रको खानेपानी सेवा स्तरको तथ्याङ्कलाई तत्काल अध्यावधिक गरी सार्वजनिक गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
अब योजनाहरुको सुचारुपनाका लागि नियमित अनुगमन तथा मर्मत सम्भारका साथै खानेपानी, सरसफाइ एवम् स्वच्छता इकाई सञ्चालन व्यवस्थापन सम्बन्धी आवश्यक कानून बनाई कार्यान्वयनमा ल्याइने भएको छ । हाल सञ्चालनमा रहेका सम्पूर्ण सक्रिय खानेपानी तथा सरसफाइ योजनाहरुलाई पालिकामा अनिवार्य रुपमा दर्ता एवं आबद्ध गराउन ‘विशेष अभियान’ चलाइनेछ ।
यस्तै उपभोक्ता समितिहरुलाई आर्थिकरुपमा सबल बनाउन उपभोक्ताबाट संकलन गरिएको पानी महसुलको कम्तिमा २० प्रतिशत रकम मर्मत सम्भार कोषमा अनिवार्य जम्मा गर्नुगर्ने नियम बनाईएको छ । उपभोक्ता समितिको जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्नका लागि अर्धवार्षिक प्रगति प्रतिवेदनसँगै एक आर्थिक वर्षभित्र अनिवार्यरुपमा सार्बजनिक लेखापरीक्षण गरी वार्षिक साधारण सभा सम्पन्न गर्नु पर्नेछ ।
९० प्रतिशतभन्दा बढी सुचारुपना कायम राख्न सफल उत्कृष्ट खानेपानी उपभोक्ता समितिहरुलाई वार्षिकरुपमा पुरस्कृत गरिने घोषणा–पत्रमा उल्लेख छ । पालिकाले आफ्ना सबै नागरिकलाई सुरक्षित र व्यवस्थित खानेपानीको पहुँच सुनिश्चित गर्न भएका योजनाहरुलाई चुस्तदुरुस्त बनाउँदै अतिआवश्यक बस्ती तथा टोलहरुमा नयाँ योजनाहरु निर्माण गर्ने नीति लिएको छ ।
सिम्तामा जलवायु परिवर्तनसँगै पूर्वाधार निर्माणका क्रममा पानीका स्रोतहरुमा पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै मुहानहरुको संरक्षण तथा संवद्र्धनमा विशेष अभियानहरु सञ्चालन गरिने छन् ।


खानेपानी सुचारुपना
कतिपय योजनाहरुमा मुहान दर्ता गर्नुपर्ने, मर्मत सम्भार कार्यकर्तालाई तालिम दिनुपर्ने, मुहान संरक्षण गर्नुपर्ने, बाढी पहिरोबाट पाइप लाइनलगायत खानेपानी योजनालाई सुरक्षित गर्नुपर्ने जस्ता विषयहरु सम्मेलनका सहभागिहरुले उठाएका थिए ।
गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले साझेदारहरुसंघको सहकार्यले सबै सिम्ताबासीहरुमा सुरक्षित खानेपानीको पहुँच पु¥याउने लक्ष्य नजिक पुगेको बताए । उनले खानेपानी योजनालाई राम्रोसँग सञ्चालन तथा दिगोपनाका लागि उपभोक्ता, वडा, पालिका र साझेदार संघ संस्था सबैको पक्षको सहकार्य आवश्यक रहेको औल्याए ।
सम्मेलनमा पालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मीले खानेपानी योजनाको दिगोपनाका लागि आवश्यक नीतिगत र कार्यान्वयन पक्षलाई आगामी दिनमा प्रमुख प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले हाल योजना निर्माण सम्पन्न कार्यको मात्रै अनुगमन गर्ने गरिएकोमा आगामी दिनमा खानेपानी योजनाको नियमित अनुगमन गर्ने नीति लिइने जनाईन् ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) का केन्द्रीय सदस्य कविन्द्रकुमार केसीले खानेपानी योजनाको दिगोपनाका लागि निर्माण पश्चात मर्मत सम्भारसँगै सञ्चालन कोष अनिवार्य रहेको बताए । ‘विशेषगरी धेरै घरधुरीलाई सुविधा दिइरहेका लिफ्टिङ्ग योजनाहरुमा विद्युत महशुल, मर्मत सम्भार लगायतका स्थानीय सरकारले निरन्तर सहयोग गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
हेल्भेटास नेपाल कर्णाली प्रदेश कार्यालयका टिम लिडर मदनराज भट्टले पालिकाको सहकार्यमा खानेपानी आयोजनाको अनुगमन मूल्यांकनका लागि ‘हेलो धारा’ सह–परियोजना सञ्चालन गरिएको जानकारी दिए । सम्मेलनले सुचारुपना र दिगोपनाका सुचकहरुका आधारमा प्रथम सानो जलुके खानेपानी तथा सरसफाई योजना, द्वितीय घोरेटा खानेपानी तथा सरसफाई योजना, र तृतीय राकम बृहत लिफ्ट खानेपानी तथा सरसफाई योजनालाई क्रमस ५०, ४० र ३० हजार रुपैयाँ प्रदान गरेको हो ।
हेल्भेटास नेपालका संस्थागत विकास तथा सुशासन विज्ञ अक्कलबहादुर शाहले निर्माण भइसकेका खानेपानी योजनालाई राम्रोसँग सञ्चालन गरी दिगो रुपमा खानेपानी समस्या समाधान गर्न सरोकारवालाहरुको जवाफदेहिता अभिबृद्धि गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको जनाए ।
‘दिगोपनाका लागि जवाफदेहिता, सुचारुपनाका लागि साझेदारी’ भन्ने नाराका साथ आयोजित दुई सम्मेलनमा जनप्रतिनिधिसँगै विषयगत शाखाका प्रमुख एवं कर्मचारीहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुखसँगै विकास साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।













