

विराटनगर । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले ‘रित्तो गाग्री’ लाई कमजोर नबुझ्न सरकारलाई आग्रह गरेका छन् ।
गर्मीयाम लागेसँगै देशैभरी खडेरीले आगजनीका घटना बढ्नुका साथै खानपानीको चरम अभावका कारण दिनहुँ आम नागरिकले भोग्नु परिहेको समस्यालाई तत्काल समाधान गर्न नसके प्रतिरोधको साम्नाका लागि तयार रहन सरकारलाई सुझाव दिएका हुन् ।

राष्ट्रिय उपभोक्ता मञ्चले शुक्रबार विराटनगरमा आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रममा मञ्चका अध्यक्ष मर्हजनले खानेपानी जस्तो गम्भिर विषयमा सरकार जवाफदेही हुन नसके २०४२ सालमा आम नागरिकले गरेको ‘रित्तो गाग्री’ आन्दोलनलाई स्मरण गर्न आग्रह गरे । उनले खडेरीका कारण देशैभरी नियमित खानेपानीको वितरणमा भईरहेको असहज परिस्थितिलाई तत्काल वैकल्पिक व्यवस्था गरेर भएपनि आम नागरिकले सरकार भएको अनुभुति हुने गरी काम गर्न सरकारहरुलाई सुझाव दिए ।


साझा मुद्धामा आम उपभोक्ता आफ्नो परिवार, समाज र देशलाई स्वस्थ्य तथा स्वच्छ बनाउनका लागि पुरुषसँगै महिलाहरु डटेर लागेको नभुल्न सरकारलाई उनले स्मरण गराए । राष्ट्रिय उपभोक्ता मञ्चको मोरङ जिल्ला कार्य समितिको अगुवाईमा आयोजित उपभोक्ता सचेतना कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उपभोक्तालाई सचेत गराउन नगरपालिकाले यथासम्भव सहयोग तथा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
मञ्चका जिल्ला अध्यक्ष शोभा लामिछानेले आम उपभोक्ताले दिनहुँ भोग्नु परिरहेको समस्याप्रति तीनै तहका सरकारहरु जिम्मेवार बन्न सुझाव दिएकी छिन् । उनले दैनिक उपभोक्ता माथि भईरहेको सिण्डीकेट, कार्टलिङ्ग तथा ठगिलाई सरकारले तत्काल नियन्त्रण गर्न नसके उपभोक्ता आफैले कार्वाही गरे अन्यथा नबुझ्न आग्रह गरिन् ।

सचेतना कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य स्वच्छताका सम्बन्धमा, नापतौल तथा गुणस्तर कार्यालयद्वारा ढककाँटाका सम्बन्धमा एवं वाणिज्य कार्यालयबाट उपभोक्ता सबन्धी ऐन कानूनका बारेमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
मञ्चका मोरङ जिल्ला सचिव चुडा भण्डारी ठकुरीले सञ्चालन गरेको बहृत उपभोक्ता सचेतना कार्यक्रममा वाणिज्य कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय मोरङ, साल्ट ट्रेडिङ कारपोरेशन मोरङ तथा विराटनगर महानगरका वड़ा अध्यक्षहरु, वड़ा सदस्यहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।












