तीन दिनदेखि राराका उडान प्रभावित


मुगु । रारा विमानस्थलमा तीन दिनदेखि उडान हुन सकेको छैन् ।
मौसममा आईरहने फेरबदलीले उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुमा जनाएको छ । शुक्रबार नेपालगन्जबाट समिट एअरले यात्रु लिएर मुगुका लागि उडेपनी जुम्ला जिल्लाको नराकोट माथी पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको रारा विमानस्थलमा अवतरण नगरी पुनः नेपालगन्ज विमानस्थल फर्केको थियो ।
शनिवार मौसम नै खुलेन तर आइतबार मौसम खुलेपनि समिट एअरले पहिलो फ्लाइट हुम्ला, दोस्रो जुम्ला गरेपछि तेर्सो फ्लाइट राखिएको मुगुको उडान समय आउँदासम्म पुनः मौसममा खराबी आएपछि आइतबारको आफ्नो रारा विमानस्थलको उडान स्थगित गरेको थियो ।
तीन दिनदेखि उडान नभएपछि नेपालगन्ज भएर मुगु आउने यात्रुसँगै रारा विमान स्थलबाट नेपालगन्ज जाने यात्रुहररु अलपत्र परेका छन् । आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च गर्ने पैसा पनि नरहेको यात्रुहरुले दुःखेको पोखेका छन् ।

रारा विमान स्थलमा नियमित उडान नहुँदा मुख्य गरि वर्षे बिदामा घर गएका शिक्षकहरु प्रभावित भएका छन् । शिक्षक नम्रता मल्लले भनिन्, ‘सडक पनि राम्रो छैन मौसमले हवाई उडान निश्चित छैन । मौसम खुलेपनी स्थगित भएको रारा विमानस्थललाई प्राथमिकता नदिएर पहिला अन्य जिल्लामा उडाइन्छ । त्यसबाट थप मन दुःखेको छ ।’
रारामा उडान भन्ने ३ एअरलायन्सहरु मध्यृ तारा एअर मर्मत सम्भारको लागि काठमाडौँ र सिता एअरको आफ्नै प्रशासनिक कामले मुगु उडान नगरेपछि समिट एअरले मात्र उडान भर्दै आएको छ।
सीता एअर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भाम आफ्नो एअरलायन्सले पनि मौसमले साथ दिए सम्भवतः सोमबारबाट रारा विमानस्थलमा नियमित उडान गर्ने बताए ।
रारामा आफूहरुले नियमित उडान गर्दै आएपनी तीन दिन यता मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एअरका नेपालगन्ज स्टेसन प्रमुख बसन्त मल्लले जनाए । उनले भने, ‘मुगु जाने र मुगु बाट नेपालगन्ज आउने यात्रुलाई सेवा दिनकै लागि शुक्रबार यात्रु लिएर जहाज मुगु तर्फ उडेको थियो तर वीचमै मौसम बिग्रँदा जहाज फर्कनु पर्यो ।’

