बैंकको प्राथमिकतामा अटो कर्जा


काठमाडौं । सवारीसाधनको सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो २०२४ र ठूला चाडपर्वको मिति नजिकिएसँगै बैंक, वित्तीय संस्थाले सवारीसाधन (अटो) कर्जालाई प्राथमिकतामा राख्न थालेका छन् । पर्याप्त लगानीयोग्य पूँजी भएकाले बैंकहरूले सस्तो ब्याजदर र विभिन्न सुविधासहित अटो कर्जा योजना सार्वजनिक गर्न थालेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकले भदौदेखि वार्षिक ७ दशमलव ७७ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । ‘आरबीबी भेहिकल लोन फेस्टिभ अफर’अन्तर्गत १ करोड रुपैयाँसम्म कर्जाको ब्याजदर ७ वर्षसम्म स्थिर रहने बैंकको योजनामा उल्लेख छ । भदौबाट शुरू भएको यो योजना कात्तिकसम्म कायम रहने बैंकले जानकारी दिएको छ । यस योजनामा बैंकले कर्जाको सेवाशुल्कसमेत शून्य दशमलव २५ प्रतिशत बिन्दुले कम गर्दै शून्य दशमलव ५० प्रतिशत मात्र तोकेको छ ।
यसअघि साउनमा एनएमबि बैंकले पनि सुलभ अटोलोन योजना सार्वजनिक गरेको थियो । विद्युतीय सवारीसाधान खरीदका लागि उपलब्ध हुने यो कर्जा पनि वार्षिक ८ दशमलव ९९ प्रतिशतमा उपलब्ध गराएको छ । यो कर्जा योजनामा पनि ब्याजदर ७ वर्षसम्म परिवर्तन नहुने बैंकले स्पष्ट पारेको छ । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले भदौ २१ देखि यस वर्षको नाडा अटो शो गर्दै छ । सवारीसाधनको कुम्भमेला मानिने नाडा अटो शोमा बैंक, वित्तीय संस्थाका मात्र डेढ दर्जन स्टल रहने आयोजकले बताएको छ । यस्तै बैंकहरूले नजिकिँदै गरेका दशैं, तिहार, छठजस्ता चाडपर्वसमेतलाई लक्ष्य गरी अटो कर्जा योजना सार्वजनिक गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल सवारीसाधन मेला र चाडपर्व नजिकिएको तथा सर्वसाधारणले पनि रुचि देखाएकोले अटो कर्जा प्राथमिकतामा परेको बताउँछन् । ‘अहिले ब्याज सस्तो भएको बेला ग्राहकहरूमा सवारीसाधन कर्जाप्रति चासो बढिरहेको छ,’ उनले भने, ‘अटो शो र चाडपर्व पनि आएकाले हामीले सवारी कर्जामा स्किम दिएका हौं ।’

उच्च शोधनान्तर घाटा र विदेशी मुद्राको सञ्चिति घटेसँगै नेपाल राष्ट्र बैंकले गाडी आयात निरुत्साहित गर्न सवारीसाधन कर्जा जोखिमभार वृद्धि गर्दै कडाइ गरेको थियो । अर्थतन्त्रमा बाह्य क्षेत्रका सूचक क्रमश: बलियो हुँदै गएपछि भने केन्द्रीय बैंक लचिलो बनिसकेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थाले हायर पर्चेज शीर्षकमा गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ खर्ब ४१ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षसम्ममा यस शीर्षकमा १५ खर्ब ९२ अर्ब रुपैयाँ लगानी गरेकोमा २२ प्रतिशतले कमी आएको हो । यसमध्ये व्यापारिक प्रयोजनका लागि दिने हायर पर्चेज कर्जा २८ प्रतिशतले घटे पनि व्यक्तिगत प्रयोजनका लागि दिने कर्जा भने शून्य दशमलव ३ प्रतिशतले बढेको छ ।
पछिल्लो समय विद्युतीय कारमा उपभोक्ताको आकर्षण बढेकाले बैंकहरूको लगानी पनि वृद्धि हुन थालेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकले विद्युतीय कारका लागि छुट्टै व्यवस्था नगरे पनि बैंकहरूले भने यसमा प्राथमिकता दिएको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बताए ।
यसैगरी पछिल्लो समय बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि आधारदर (बेसरेट) घट्दा कर्जाको ब्याजदर पनि सस्तो भइरहेको छ । राष्ट्र बैंकका अनुसार २०८१ असारमा बैंकहरूको औसत आधारदर ८ प्रतिशत र कर्जाको ब्याजदर ९ दशमलव ९३ प्रतिशतमा झरेको छ ।
बैंकहरूले आधारदरमा न्यूनतम १ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा दिने गरेको छन्, जसको आधारमा बैंकहरूबाट एकल अंकको ब्याजदरमा कर्जा लिन सकिने अवस्था रहेको बैंकरहरू बताउँछन् । आर्थिक अभियान

