सडक सास्ती हटाऊँ !


कर्णाली भन्ने वित्तिकै पिछडीएको क्षेत्र मात्र होइन, रोग, भोग र गरिवीले ग्रस्त भौगोलिक दुर्गम क्षेत्र भन्ने बुझिन्छ । त्यसैमा वर्षातले विगारे सडक नबन्दा नागरिकले अहिले थुप्रै समस्याहरुको साम्ना गर्नु परिरहेको छ । कर्णालीमा भौतिक पूर्वाधारको विकास नै विकास मात्र हो भन्ने भाष्यले थुप्रै चुनौतिहरु खडा गरेका छ । त्यसमा पनि सडक पूर्वाधार पहिलो मानिन्छ । उसो त सडकमात्रै विकास होइन् । सडक विकासको आधार हो, त्यो पनि पहिलो नै भन्दा पनि हुन्छ । तर कर्णालीमा विकास भनेकै सडक निर्माण भनेर बुझ्ने परिपाटी नहटेकाले समस्याहरु झन जटिल बनेका हुन् । त्यसै त डाँडाकाँडा, भिरपाखा र कुनाकन्दरासम्मै सडक सञ्जाल पु¥याउने होडबाजी छ । जनता नै घरघरै सडक पुगोस् भन्ने मनोविज्ञानका छन् र सस्तो राजनीति गर्ने जनप्रतिनिधिहरु त्यही मनोविज्ञानलाई सम्बोधन गर्ने होडबाजीमा हुन्छन् । जथाभावी खनिएका सडकले विकास होइन विनाश निम्त्याएको छ । वनजंगल, पानीका स्रोत केही पनि ख्याल नगरी भिरपाखालाई काँक्रा चिरे झैं सडक सञ्जालले चिरेको कर्णाली प्रदेशभरि देखिन्छ ।

जस्तो जाजरकोटको कुरा गर्ने हो भने यहाँ अहिले साना ठूला गरि डेढ सय बढी सडक योजना सञ्चालन भइरहेका छन् । बनिसकेका पनि सयकै हाराहारीमा छन् । वातावरणीय मूल्यांकनबिना नै सडक निर्माण नै प्रमुख समस्या हो । बस्ती र खानेपानीका स्रोतहरुमाथि सडकको अतिक्रमणको परिणाम सहर, बजारमा खानीपानीको अभाव र मानव बस्ती विस्थापन हो । अनि जथाभावी खनिएका सडकले पहाडमा पहिरो चलाएका छन् । पहिरोले बाढी बढाएका छन् । तिनै बाढीपहिरोमा थुप्रैले ज्यान गुमाएका छन् । कर्णालीका १० वटै जिल्लामा पछिल्लो दुई वर्षको अवधिमा धेरैले अकालमै ज्यान गुमाएका छन् । बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या उल्लेख्य रहेको छ । यसको मुख्य कारण अस्तव्यस्त रुपमा खनिएका सडक नै हो ।
हो, विकासको पहिलो पूर्वाधार सडक हो, सडक निर्माण गरिनुपर्छ । तर, जथाभावी, बिना अध्ययन र इन्जिनियरिङ सडक खन्नु भएन । आवश्यकताको आधारमा सडक निर्माण गरिनुप¥यो । मागका आधारमा मात्रै जहाँ पायो त्यहीं सडक सञ्जाल विस्तार आवश्यक छैन् । बरु मानव वस्तीलाई सडक नजिक ल्याउनुपर्छ, न कि जहाँजहाँ एकदुई घर छन्, त्यहाँ त्यहाँ सडक । त्यसो गर्दा राज्यको लगानी धेरै र उपलब्धि थोरै हुन्छ । अनि विकासका नाममा अरु विनास पनि सँगसँगै निम्तिन्छ । सडक निर्माण अत्यावश्यक भएका थुप्रै ठाउँ छोडेर राजनीतिक पहुँचका भरमा जसरी कथित विकास गरिएको छ, त्यसले विनासमात्रै दिएको छ भन्ने मनन गर्न ढिला गर्नु हुँदैन् । कर्णालीका नागरिकदेखि राजनीतिक नेतृत्वले समेत विकासका लागि विनास गर्ने प्रवृत्ति रोक्ने तर्फ जुट्नु पर्छ । विकास आवश्यकतामा आधारित हुन्छ । जहाँ पायो त्यहीं विकासको कुनै अर्थ रहदैन् । त्यसैले समयमै सबै सचेत र सजक बनौं ।

