२०८३ असोज २५ , आइतबार
Sky News Nepal
October 11, 2026

१७ वर्षीया किशोरीलाई बिक्री गर्न खोज्ने तिन जना पक्राउ



बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ विसम्भरपुर गाउँकी १७ वर्षीया किशोरीलाई एक समूहले विभिन्न प्रलोभन देखाएर भारतमा बेच्ने प्रयास गरेको खुलेको छ ।

राप्ती सोनारी–७ स्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया किशोरीका आमाबुवालाई ‘तिम्रो छोरीलाई फाइदा हुने काम छ’ भन्दै प्रलोभन देखाएर भारतमा बेच्ने प्रयास गरेको खुलेको हो ।

आफूहरूलाई झुक्याएर प्रलोभनमा पारी आफ्नै गाउँका दुई जनासहित तीन जनाले छोरीलाई बेचेर करोडौं रुपैयाँ कमाउने मनसाय राखेर अमानवीय कार्य गरेको भन्दै किशोरीका अभिभावकले र्इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा किटानी जाहेरी दर्ता गराएका छन् । पीडित किशोरीकी आमाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फागुन २४ गते तीन जनाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

छोरीलाई बेचेर करोडौं कमाउने मनसायले गैरकानुनी कसुर गरेको आरोप लगाउँदै पीडितकी आमाले राप्ती सोनारी–६ मोहनपुर गाउँकी अन्दाजी २९ वर्षीया कल्पना रायमाझी, राप्ती सोनारी–७ बस्ने अन्दाजी ४६ वर्षीय चिजमान भन्ने तेजु थारू र बाँके डुडुवा गाउँपालिका–३ हलबलडोली गाउँ बस्ने अन्दाजी ३५ वर्षीय लल्लु भन्ने मोहम्मद इसरारुल हक खाँविरुद्ध किटानी जाहेरी दर्ता गरेकी हुन् ।

जाहेरी दर्ता भए लगत्तै आरोपितहरूलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आरोपितहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम छानबिन सुरु गरिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २७ गते मंगलबार
Translate »