नेपालको खाद्य प्रयोगशालालाई अन्तरराष्ट्रिय मान्यता


काठमाडौं । नेपालको खाद्य प्रयोगशालाले पहिलोपटक अन्तरराष्ट्रिय मान्यता पाएको छ ।
अब नेपाल सरकारको आफ्नै प्रयोगशालामा परीक्षण भई गुणस्तरीय प्रमाणित भएका २२ ओटा खाद्य समूहका ८ सय १४ वटा नेपाली खाद्यवस्तु भारतबाहेकका मुलुकमा समेत विनाअवरोध निर्यात गर्ने बाटो खुलेको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
भारतीय गुणवत्ता परिषद्अन्तर्गतको राष्ट्रिय परीक्षण र अंशशोधन प्रयोगशाला प्रत्यायन बोर्ड (एनएबीएल) ले नेपालको प्रयोगशालालाई अन्तरराष्ट्रिय मान्यता दिएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।
‘एनएबीएलको मान्यताप्राप्त प्रयोगशालामा भएको गुणस्तर परीक्षणलाई तेस्रो देशले पनि मान्यता दिने गरेका छन्,’ उनले भने ‘त्यही भएर २२ वटा खाद्य समूह अन्तर्गतका ८ सय १४ वस्तुलाई भारतलगायत तेस्रो देशमा गुणस्तरका आधारमा अवरोध नहुने स्थिति बनेको छ ।’

यसअघि नेपालको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले यस्तो मान्यता प्राप्त गर्न एनएबीएलमा आवेदन दिएको थियो । यो संस्था परीक्षण र क्यालिब्रेशन प्रयोगशालाहरुको राष्ट्रिय मान्यता प्राप्त बोर्ड हो । यसको मान्यता प्रणाली आईएसओ/आईईसी १७०११ अनुसार स्थापित छ ।
नेपालले यसअघि विदेशी मुलुकमा खाद्यवस्तु निर्यात गर्नुपरेमा भारतकै प्रयोगशालामा परीक्षण गराउनुपर्ने बाध्यता थियो । अब नेपालका लागि उक्त बाध्यता हटेको छ । अब नेपालको प्रयोगशालमा परीक्षण भएका २२ खाद्य समूह अन्तर्गतका वस्तु भारतसहित, कतार, दुबई, अमेरिका, जापान, बेलायतलगायत मुलुकमा विनारोकतोक निर्यात हुन सक्ने वातावरण बनेको उनले बताए ।
यसअघि विभागले १० खाद्य समूह अन्तर्गतका ३ सय ८६ ओटा वस्तु मात्रै परीक्षण गर्ने गरेकोमा अबका दिनमा २२ खाद्य समूह अन्तर्गतका ८ सय १४ वस्तु परीक्षण गर्ने क्षमता विस्तार गरेको छ ।
विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला (एनएफएफआरएल) को अन्तरराष्ट्रिय मान्यता प्राप्तिले खाद्य तथा कृषिजन्य वस्तु निर्यातमा थप सहजीकरण तथा प्रवद्र्धन हुने विश्वास विभागले लिएको छ । साथै यस विभागको प्रयोगशाला सुविधा पूर्ण रुपमा उपयोग गर्न सबै निर्यातकर्तालाई विभागले अनुरोध गरेको छ ।

