झुप्रा खोला किनारको बादी समुदायको बस्ती बाढीको उच्च जोखिममा


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११,झुप्रा खोला किनारको बादी समुदायको बस्ती बाढीको उच्च जोखिममा रहेको पाईएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी मिडिया एड्भोकेसी’ कार्यक्रममा डोजर लगाएर खोला किनारबाट निकालिने अनियन्त्रित ढुङगा, गिट्टी र बालुवा उत्खनन्का कारण झुप्रा खोला किनारको बादी समुदाय बसेको बस्ती बाढीको उच्च जोखिममा रहेको पाईएको हो ।
फोटो पत्रकार मानबहादुर वलीले तयार पारेको ‘फोटो स्टोरी’ मार्फत बस्तीको वर्तमान वस्तुस्थिति प्रस्तुत गर्दै झुप्रा खोलामा २०७७ सालदेखि मेसिनमार्फत अनियन्त्रित तरिकाले भईरहेको ढुङ्गा, गिट्ट र बालुवा उत्खननले झुप्रा खोला र भेरी नदी किनारको बस्ती समेत बाढीको उच्च जोखिममा रहेको औल्याईएको छ ।
हाल झुप्रा खोला किनारको बस्तीमा करिब १ सय ८३ घरपरिवार रहेको अनुमान छ । उसो त स्थानीय वीरेन्द्रनगर नगरपालिकासँग झुप्रा खोला किनारमा हाल कति घरपरिवार बस्दै आएका भन्ने कुनै आधिकारिक तथ्यांक छैन् । वर्षात नजिकिँदै गर्दा वीरेन्द्रनगर नगरपालिकाले झुप्रा खोला किनारका बस्तीमा बाढीको पूर्वतयारी तथा सुरक्षाका लागि प्राथमिकता समेत दिन नसकेको पाईएको हो ।

झुप्रा खोलामा २०७७ सालदेखि वीरेन्द्रनगर नगरपालिका र लेकवेशी नगरपालिकाले आलोपालो नियमित ठेक्का प्रक्रियामार्फत मेसिन प्रयोग गरी ढुङगा, गिट्टी र बालुवा उत्खनन् गर्न दिईरहेका छन् । अनियन्त्रित मेसिनको प्रयोगले खोला गहिरिँदै जाँदा वर्षातको समयमा बस्ती नै कटानमा पर्ने खतरा बढेको हो ।
युएनडिपीको ‘सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना’ (सुपर–२) को प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा पत्रकार वलीले झुप्रा खोला मात्र नभई वीरेन्द्रनगर नगरपालिका भित्रका विभिन्न १० वटा स्थानमा विपद् जोखिम तथा व्यवस्थापनका पक्षहरुलाई फोटोस्टोरी मार्फत उजागर गरेका छन् ।
झुप्रा खोलाको जोखिमसँगै निकास खोलाको डुबान, इत्राम खोला किनारको असुरक्षित आवास, रातानाङ्लाको मौसमी राडारको अवस्था, राउटे समुदायको विपद् जोखिम र नगरपालिकाको आपत्कालीन तयारीका पाटाहरु समेत फोटो स्टोरीमा समेटिएका छन् । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक खिमलाल देवकोटाले आगामी बजेटमार्फत यो झुप्रा खोलाको बस्तीलाई व्यवस्थित गर्न ध्यान दिइने बताए ।
उनले भने, ‘अधिकांशको बादी समुदायको दोहोरो घर हुनु र बाहिरबाट अस्थायी रुपमा आयआर्जनका लागि मानिसहरु आउने गरेकाले बस्ती व्यवस्थापनमा केही जटिलता देखिएको हो, तर अब हामी यसलाई प्राथमिकतामा राख्ने छौं ।’
त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका विपद् जोखिम न्यूनीकरण ‘फोकल पर्सन’ प्रकाश पौडेलले नीतिगत सुधारसहित बस्ती व्यवस्थापनमा नगरपालिकाले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

