कर्णालीका तीन पालिकामा अझैपनि फोर–जी/एलटीई सेवा सेवा पुग्न सकेन


सुर्खेत । कर्णाली प्रदेशका तीन पालिकामा अझैपनि फोर–जी (एलटीई) सेवाको पहुँच पुग्न सकेको छैन् ।
नेपाल टेकिलमको सेवा विस्तारमा गरिएको ढिलाईले फोर–जी सेवा लिन आतुर टेलिकमका उपभोक्तालाई थ्री–जीमै सीमित हुनुपर्ने बाध्यता छ । निजी क्षेत्रको एनसेलले फाइभ–जी ल्याउने योजना बनाई रहेका बेला नेपाल टेलिकमले भने डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका, मुड्केचुला गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिकामा फोर–जी सेवाको पहुँच विस्तार गर्न बाँकी रहेको जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी (ईन्जिनियर) जीवन न्यौपानेले भौगोलिक विकटता, प्रतिकुल मौसमसँगै विद्युत जस्ता स्रोतसाधनको अभावले डोल्पाका तीन पालिकामा फोर–जी सेवा विस्तार गर्न ढिलाई भईरहेको बताए ।
‘टेलिकमले दुर्गम र विकट क्षेत्रमा पनि दूरसञ्चार पहुँच पु¥याउन निरन्तर प्राथमिकता दिँदै आएको छ,’ उनले भने, ‘छिट्टै फोर–जी सेवा पुग्न नसकेका पालिका केन्द्रमा सेवा विस्तार गरिनेछ ।’ प्रदेशका ७९ वटै पालिकामा टु जी, थ्री जी सेवा सञ्चालनमा रहेको बताउँदै उनले हाल फोरजी सेवा पुग्न नसकेका डोल्पाका तीन पालिकामा छिट्टै सेवा विस्तार गरिने योजना रहेको जनाए ।
यता सरकारी कम्पनीका सेवाग्राहीले भने फोर–जी चलाउनबाट बञ्चित हुनु दुःखद पक्ष भएको बताउँछन् । डोल्पो क्याम्पस दुनैका क्याम्पस प्रमुख विष्णुलाल बुढाले फोर–जी तीव्र गतिको डाटा इन्टरनेट भएकाले सेवा विस्तार नभएका डोल्पाका पालिका केन्द्रमा टेलिकमका सेवाग्राही अझै पनि चासोका साथ यसलाई कुरिरहेको बताए ।
उनले अनलाइन सेवा, डिजिटल कारोबार र शैक्षिक गतिविधिका लागि अझै पनि ती पालिकाका नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको जनाए । ‘समयमै सेवा विस्तार गर्न सकेको भए टेलिकमको डाटा उपयोगको दर पनि बढ्ने नै थियो,’ उनले भने, ‘अहिले फोर–जी सेवा नहुँदा डोल्पो बुद्ध गाउँपालिका, मुड्केचुला गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिकाका सर्वसाधारणसँगै विद्यार्थीलाई समेत सकस भईरहेको छ ।’

उनले फोर–जीको प्रभावकारिता र फाइदाबारे राम्रो जानकार हुँदा–हुँदै प्रक्रियाको जटिलाताकै कारण देखाएर डोल्पाका तीन पालिकामा सेवा विस्तारमा गरिएको ढिलाई शंकास्पद भएको जनाए । ‘इन्टरनेटको प्रभावकारी सेवा उपलब्ध नहुँदा स्थानीयको दैनिक जीवन समेत प्रभावित बनेको छ,’ उनले भने, ‘कमजोर नेटवर्कका कारण सामान्य इन्टरनेट सेवा प्रयोग गर्नसमेत समस्या हुने गरेको छ ।’
इन्टरनेट अभावका कारण स्थानीय सरकारका काम–कारबाहीसमेत प्रभावित भएको उनको भनाइ छ ।

के हो फोर–जी ?
फोरजी ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा नेपालका लागि सबैभन्दा पछिल्लो प्रविधि हो । पछिल्लो प्रविधि भएको हुनाले स्वभाविक रुपमा फोरजी थ्रीजीभन्दा तीव्र गतिको हुन्छ ।
आइटियूको मापदण्ड अनुसार १ सय मेगाबाइट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेटसहितको सेवालाई फोरजी भनिन्छ । विभिन्न देशमा टेलिकम कम्हपनीहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् ।
नेपालका सेवा प्रदायकले भने औसत ३५ एमबीपीएसमा फोरजी चलाइरहेका छन् । फोर–जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्छन् ।

