नेपाल–भारत सीमामा सुरक्षा समन्वयबारे त्रैमासिक बैठक बाँकेमा सम्पन्न


बाँके । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा समन्वय र सहकार्य सुदृढ गर्ने उद्देश्यसहित दुवै देशका उच्च सुरक्षा अधिकारीहरु बीच त्रैमासिक बैठक मंगलबार बाँके सीमास्थित एकीकृत जाँच चौकी (आईसीपी) मा सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बागेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक भीम चन्दका अनुसार बैठकमा नेपालतर्फबाट सशस्त्र प्रहरी बल (एपीएफ) का उच्च अधिकारीहरु तथा भारततर्फबाट सीमा सशस्त्र बल (एसएसबी) का डीआईजीसहित सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।
बैठकमा भारततर्फका एसएसबी महानिरीक्षक वी. विक्रमण तथा नेपालतर्फबाट एपीएफका नायब महानिरीक्षक दीपेन्द्र कुँवरको नेतृत्वमा सीमाक्षेत्रको वर्तमान सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो । साथै, सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको बताईएको छ ।

छलफलका क्रममा सुरक्षा व्यवस्थापन, आवागमन सहजता, व्यापारिक गतिविधि, वन संरक्षण लगायत विषयलाई प्राथमिकतामा राखिएको थियो । बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र आपसी समझदारी सुदृढ बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् ।
एपीएफका डीआईजी कुँवरले दुई देशबीचको विश्वासलाई अझ मजबुत बनाउन संयुक्त प्रयास आवश्यक रहेको बताए । उनले सीमा व्यवस्थापनमा समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिए । त्यस्तै, भारततर्फका डीआईजी विक्रमणले परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई आधार बनाएर सीमा व्यवस्थापनलाई सहकार्यपूर्ण ढंगले अघि बढाउनुपर्ने औल्याए ।
बैठकपछि दुवै देशका अधिकारीहरुले नेपाल–भारत सीमामा रहेको नेपालगन्ज रोड रेलवे स्टेशनको स्थलगत अवलोकन गरेका थिए । सो क्रममा पूर्वाधार विकास र सेवा विस्तारका सम्भावनाबारे पनि छलफल भएको थियो । नियमित रुपमा हुने यस्ता बैठकले सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै दुई देशबीचको सहकार्य थप सुदृढ हुने विश्वास गरिएको छ ।

