फुकुवा भए बीवाइडीका विद्युतीय सवारीसाधन‚ कैफियत नभेटिएको प्रारम्भिक निष्कर्ष


मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बीवाइडी कम्पनीको चिनियाँ विद्युतीय सवारीसाधनलाई फुकुवा गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिएका ती सवारीसाधन आइतवार साँझ फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ । मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बीवाइडी कम्पनीका ७७५ ओटा विद्युतीय सवारीसाधनहरू नेपाल भित्रिएका थिए ।
तीमध्ये ६४९ विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको जनाइएको छ । कोरलानाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने आशंकामा सशस्त्रले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
कोरलानाकाबाट ती सबै विद्युतीय सवारीसाधनलाई साइमन इंकले खरीद गरी नेपाल भित्र्याएको थियो । ती सवारीसाधनको कैफियत रहे रनरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखा प्रमुख रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
सरकारद्वारा गठित छानबिन समितिको टोलीले गत जेठ२१ मा कास्की, पर्वत र मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारीसाधनको स्थलगत अनुमगन गरी अनुसन्धान शुरुआत गरेको थियो । उक्त समितिको प्रारम्भिक प्रतिवेदनअनुसार कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष रहेको बताइएको छ ।

यसअघि सशस्त्रले गत दुई सातादेखि कास्कीको हेम्जामा ९८ ओटा र पर्वतको कुश्मामा १७ ओटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो । यसैगरी मुस्ताङको कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ ओटा र कोरलानाकामा ३९४ ओटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिएका ती साधनलाई आइतवार साँझ सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरीले जानकारी दिए । सशस्त्र प्रहरीको केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा लिइएका सबै विद्युतीय सवारीसाधन आइतवा साँझदेखि फुकुवा गरिएको उनले बताए ।
कैफियत फेला नपरेपछि जोमसोम र कोरलानाकामा नियन्त्रणमा ती सवारीसाधन फुकुवा भएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनका अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ ओटा विद्युतीय सवारीसाधनमध्ये आइतवार र सोमवार २२३ ओटा विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेको जनाइएको छ । जोमसोम बसपार्कमा अहिले ४३ ओटा मात्रै बाँकी रहेको सशस्त्र प्रहरीले उल्लेख गरेको छ ।
यसैगरी कोरलानाकामा राखिएका विद्युतीय सवारीमध्ये भन्सार जाँचपास भएका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ लैजाने र भन्सार जाँचपास नभएका विद्युतीय सवारीसाधनको पनि आवश्यक भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ लैजान समस्या नभएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मले जनाएको छ । रासस

