कर्णालीमा विज्ञान तथा प्रविधिको सम्भावनाबारे युवा वैज्ञानिक सम्मेलन

सुर्खेत । विज्ञान तथा प्रविधिका क्षेत्रमा कर्णालीको सम्भावनाबारे सुर्खेतको वीरेन्द्रनगरमा युवा वैज्ञानिकहरुको सम्मेलन आयोजना गरिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना तथा ग्लोबल सस्टेनेबल सिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको प्राविधिक सहयोगमा युवा वैज्ञानिक सम्मेलन आयोजना गरिएको हो ।  सम्मेलनमा विज्ञान, प्रविधि र खोज अनुसन्धानका क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थासँगै प्रदेशका १० वटै जिल्लाका विज्ञान शिक्षक, विश्वविद्यालयका विद्यार्थी, युवा वैज्ञानिक तथा विज्ञहरुको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले ‘कर्णालीको सामाजिक दृष्टिकोणः विज्ञान प्रविधि तथा नवप्रवर्तनमा तत्काल आवश्यकता’ शीर्षकको प्रसतुतिकरण राखेका थिए । उनले कर्णालीमा समस्या मात्र नभई थुप्रै सम्भावना रहेको बताउँदै यो प्रदेश सभ्यता, संस्कृति र सम्मानको भूमि भएको बताए ।

मन्त्री भण्डारीले आफूहरुले कर्णालीमा डिजिटल पूर्वाधार निर्माणका प्रयास गरिरहेको जनाए । ‘यहाँको परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्न सके धेरै उपलब्धिहरु हासिल गर्न सकिने सम्भावना छ,’ उनले भने ।  कर्णालीमा अझै पनि लगानीमैत्री वातावरण बनाउन नसकिएकाले समग्र विकासको गतिमा असर परिरहेको उनले बताए । मन्त्री भण्डारीले कर्णालीको सम्भावनाबारे खोज तथा अनुसन्धान गरेर योगदान गर्न विज्ञहरुलाई आह्वानसमेत गरे ।

त्यस्तै, नास्टका प्राज्ञ दिनेशराज भुजुले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा काम गरिरहेका जनशक्तिलाई अवसर प्रदानगरी प्रोत्साहन गर्नुपर्ने बताए । ‘समृद्ध कर्णालीको आधारः विज्ञान प्रविधि तथा नवप्रवर्तन’ शीर्षकमा आफ्नो प्रस्तुति राखेका उनले कर्णालीको सम्भावनाबारे औल्याउँदै इच्छा शक्ति भए थुप्रै काम गर्न सकिने उल्लेख गरे ।

‘प्राकृतिक स्रोत हुँदैमा कोही मुलुक धनी हुँदैन,’ उनले भने, ‘त्यसका लागि स्रोतको अधिकतम् प्रयोगमा जोड दिनुपर्दछ ।’ विज्ञानको केन्द्रविन्दु ज्ञान भएको भन्दै उनले प्रविधि ज्ञानको व्यावहारिक प्रयोग हुनुपर्ने बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव रोशनी श्रेष्ठले कर्णाली खोज र अनुसन्धानको उर्वर भूमि भएको बताइन् । उनले कर्णाली सरकारले डिजिटल पूर्वाधारको विकासका लागि आवश्यक नीति तथा कार्यक्रमहरु अघि बढाएको जनाइन् ।  सम्मेलनमा विज्ञान र नवप्रवर्तनसम्बन्धी विभिन्न विषयगत सत्रहरु सञ्चालन गरिएका थिए । यस्तै, सम्मेलन स्थलमा युवा वैज्ञानिकहरुले आविष्कार तथा उत्पादन गरेका प्रविधिसँगै विभिन्न सामग्रीहरु प्रदर्शनी गरिएको थियो ।

कर्णाली प्रदेशको विज्ञान तथा प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका युवा वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी एवम् उद्यमीलाई सम्मान गरिएको थियो ।

Translate »