

सुर्खेत । अझैपनि कर्णालीका आठ पालिका केन्द्र सडकको पहुँच बाहिर रहेका छन् ।
भौगोलिक विकटता, कडा चट्टान, र कर्णाली नदीमा बेलैमा मोटरेबल पुल नबन्नु जस्ता कारणले ती पालिकाहरुमा सडक पुग्न नसकेको हो । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये ३ जिल्लाका ८ वटा पालिका केन्द्रहरु अझै पनि राष्ट्रिय र मोटर गुड्ने सडक सञ्जालको पहुँच बाहिर छन् ।
पूर्वाधार कार्यालय सुर्खेतका अनुसार डोल्पाको काइके, डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिका, कालीकोटको महावै, पलाँता, र पचालझरना गाउँपालिकासँगै मुगु जिल्लाको मुगुमकार्मारोङ गाउँपालिकामा सडकको पहुँच पुग्न सकेको छैन् । सडक पूर्वाधारलाई आर्थिक तथा सामाजिक विकासको आधार मानिए पनि भौगोलिक विकटता, कठिन भूगोल र सीमित स्रोत–साधनका कारण ती स्थानीय तह राष्ट्रिय सडक सञ्जालबाट जोडिन नसकेका हुन् ।
सडक पहुँच नहुँदा स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन, पर्यटन प्रवद्र्धन गर्न तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा समेत समस्या हुँदै आएको छ । । पलाँता र पचालझरना जस्ता गाउँपालिकाले आन्तरिक रुपमा सडक खने पनि कर्णाली नदीमा मोटरेबल पुल नहुँदा राष्ट्रिय सञ्जालमा जोडिन पाएका छैनन् ।
हिमाली क्षेत्रका पालिकाहरुमा कडा चट्टान र कठिन भिर भएकाले ट्¥याक खोल्न धेरै समय र बजेट लाग्ने गरेको छ । सडक अभावका कारण स्थानीय बासिन्दाले स्वास्थ्य उपचार, खाद्यान्न ढुवानी र दैनिक उपभोग्य सामग्रीका लागि खच्चड वा मानिसले नै भारी बोक्नुपर्ने बाध्यता छ । हाल सरकारले विश्व बैंकको ऋण सहयोग तथा आन्तरिक स्रोत परिचालन गरी यी बाँकी पालिकाका केन्द्रसम्म सडकको ट्¥याक खोल्ने कार्यलाई प्राथमिकतामा राखेपनि कार्यान्वयन पक्ष फितलो हुँदा आमनागरिकले दुःख पाईरहेका छन् ।

कालिकोटको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले पालिका केन्द्र र सबै वडामा सडक पुग्न नसकेको बताए । ‘पालिका केन्द्र जोड्ने सडक बनिरहेको छ,’ उनले भने । पचालझरना गाउँपालिकाका २, ३, ५ वडा तथा गाउँपालिका केन्द्रमा सडक पुग्न बाँकी छ । गाउँपालिकाका उपाध्यक्ष अल्किना बमले कर्णाली नदीमा पुल नहुँदा सबैले सास्ती भोग्नुपरेको बताइन् ।
‘मोटरेवल पुल निर्माण ढिला हुँदा पालिका केन्द्र पडेक्षा र तीनवटा वडामा सडक पहुँच छैन्,’ उनले भनिन्, ‘स्थानीय सरकारका तर्फबाट ताकेता गरे पनि पुल निर्माणले गति लिन सकेको छैन ।’ पलाँता गाउँपालिकालाई सडक सञ्जालसँग जोड्न पनि पुल तगारो बनेको छ । स्थानीय तहले आन्तरिक सडक खने पनि कर्णाली नदीमा पुल नहुँदा पालिका सडक सञ्जालसँग जोडिन नसकेको हो ।
यता डोल्पाको डोल्पोबुद्ध गाउँपालिकालाई सदरमुकाम दुनै र राष्ट्रिय सडक सञ्जालसँग जोडिन अझै केही वर्ष लाग्ने छ । सदरमुकाम दुनैदेखि लासिक्यापसम्म भेरी करिडोरअन्तर्गत ठेक्का लगाएर काम भइरहेको छ । कडा चट्टानी भूगोल भएकाले कामको प्रगति न्यून छ । कडा चट्टान फुटाउन ‘ब्लास्ट’ गर्नुपर्ने हुन्छ । अहिलेसम्म नेपाली सेनाबाहेकलाई ब्लास्ट गराउने अधिकार दिइएको छैन् ।
लासिक्यापदेखि सिसोलसम्मको सडक संघीय सरकारले भखैरै नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको छ । ‘यति सडक बनेपछि भेरी करिडोरले मात्रै पूर्णता पाउँदैन् तर अहिलेसम्म सडक सञ्जालसँग नजोडिएका डोल्पाका चारवटा गाउँपालिकाको सडकमा पहुँच बढ्छ,’ पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टेक हितानले भने, ‘चीनसँग पनि व्यापारिक सम्बन्ध विस्तार हुन्छ ।’
डोल्पोबुद्धसँगै काइके, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग मात्रै होइन्, आन्तरिक सडक सञ्जालमा पनि छैनन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार कर्णालीभरि ७ हजार ४ सय १ किलोमिटर कच्ची सडक छ । त्यसमध्ये १ हजार २ सय ६५ किलोमिटर कालोपत्रे र १ हजार २० किलोमिटर ग्राभेल गरिएको छ ।












