२०८३ असोज २२ , बिहीबार
Sky News Nepal
October 9, 2026

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि



नेपालगञ्ज । बाँकेमा हालसम्म ९० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी अस्पताल लगायत अन्य अस्पतालहरुमा चेकजाँचका क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका मलेरियाका फोकल पर्सन रत्नप्रसाद शर्माले जानकारी दिए ।

यसैबीच डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाले ‘लार्भा नष्ट’ अभियान सञ्चालन गरिने भएको छ । डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न पालिकाका २३ वटै वडामा लामखुट्टेको बासस्थानसहित लार्भा नष्ट अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख जागेश्वर बस्नेतले जनाए ।

कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालका अनुसार केही दिनभित्रै अभियान सञ्चालन गर्ने गरी सम्वद्ध सरोकारवालाहसँग छलफल गरिएको छ । अभियानमा घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलर लगायत पानी जम्मा हुने स्थानमा डेंगु सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ ।

विगतमा सञ्चालन गरिएको ‘खोज र नष्ट गर’ अभियानपछि डेंगु संक्रमण घटेको थियो । त्यही भएर यो वर्ष पनि अभियान चलाउन लागिएको उनको भनाइ छ । डेंगु सार्ने लामखुट्टे कात्तिक–मङ्सिरसम्म सक्रिय रहने भएकाले यो अवधि अघि नै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार
Translate »