बिदाको दिनमा पनि बजार अनुगमन हुने

गुनासो भए १०० नम्वरमा फोन गरौं

स्काई न्यूज सम्वाददाता/असोज १६, सुर्खेत ।
संयुक्त बजार अनुगमन समिति सुर्खेतले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताए । केही गुनासो भएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयमा सिधै सम्पर्क गर्न सर्वसाधारणलाई उनले आग्रह गरेका छन् ।


आपसी सद्भाव, मित्रता अभिवृद्धि गर्ने गरी सांस्कृतिक मान्यताअनुसार चाडपर्व मनाउन आग्रह गर्दै उनले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयनका लागि प्रशासन अघि बढेको जानकारी दिए । संयुक्त अनुगमन समितिले यातायात व्यवसायी, थोक तथा खुद्रा विक्रेतालाई आम उपभोक्ताको सेवा पु¥याउन अनुरोध गरेको छ । अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानूनअनुसार कारवाही गर्ने बजार अनुगन समितिले चेतावनी दिएको छ ।

Translate »