सिमकोट-हिल्सा सडक पाँच महीनापछि पुनः सञ्चालन

जेठ १२, सिमकोट । पाँच महीनादेखि अवरुद्ध हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातपछि अवरुद्ध उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो ।

डोजरले नौ दिन लगाएर हिउँ र पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन आएको हो । नाम्खा(५ को यारीमा पर्ने नारा लेकमा जमेको झण्डै चार फिटसम्मको हिउँ र पहिरो पन्छाएर सडक सञ्चालन भएको हिल्सा–सिमकोट सडक आयोजनाका इञ्जिनीयर नीरज राजवंशीले बताए । नारापासमा यातायात सञ्चालन गर्न नौ दिन लगाएर हिउँ र पहिरो पन्छ्याइएको इञ्जिनीयर राजवंशीले बताए ।

सिमकोट–हिल्सा सडकखण्डको सिमकोटदेखि यारीसम्म यातायात सञ्चालन भए पनि नारामा हिउँ जमेकोले पाँच महीनादेखि सडक अवरुद्ध थियो । हिल्सा(यारी खण्डको २८ किलोमिटर सडकमध्ये १० किमि सडकबाट हिउँ र १८ किमि सडकबाट पहिरो पन्छाइएको हो ।

पाँच महीनादेखि सडक यातायात अवरुद्ध हुँदा स्थानीय एवं व्यापारी पैदलै हिँड्न बाध्य थिए । वैशाख १८ गतेदेखि जेठ पहिलो हप्तासम्म ताक्लाकोट जाने हुम्ली तथा हिल्सामा कार्यरत सुरक्षाकर्मीले यसअघि पैदल भएर आवतजावत गरिरहेका थिए । अहिले पहिरो र हिउँ पन्छाएसँगै सडक यातायात सञ्चालन भएपछि यात्रुलाई सहज भएको सिमकोट गाउँपालिका(७ का बासिन्दा वीरबहादुर सिंहले बताए ।

कर्णाली करिडोरअन्तर्गतको हिल्सा(सिमकोट सडक खण्ड हिल्सा–सिमकोट सडक आयोजनाको क्षेत्रमा पर्ने भएकाले कार्यालयले आफैंले मेसिन लगाएर हिउँ पन्छाएको इञ्जिनीयर राजवंशीले बताए ।

अघिल्लो वर्षसम्म हिल्सा नाका बन्द भएकाले सीमित रूपमा सञ्चालन हुने सवारीसाधन नाका खुलेपछि भने चीनको ताक्लाकोटसम्मै सञ्चालन भएका छन् । यससँगै त्यहाँ जानेको संख्या बढेको छ । (रासस)

Translate »