भेरीगंगा नगरपालिकाद्वारा २०८० साललाई सरसफाई वर्ष घोषणा

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाकाले विक्रम सम्वत २०८० साललाई सरसफाई वर्ष घोषणा गरेको छ । भेरीगंगाले विश्व वातावरण दिवसको अवसर पारेर ‘स्वस्थ, स्वच्छ, सुरक्षित र सुन्दर’ नगर बनाउने उद्देश्य सहित वर्षभरी सरसफाई अभियान सञ्चालन गर्न लागेको हो । भेरीगंगा नगरपालिकाले आज छिन्चु बजारमा बृहत सरसफाई वर्ष घोषणा गर्न करिब एक हजार नागरिकहरु परिचालन गर्न लागेको छ ।

सरसफाई अभियानमा सबै वडा कार्याहरु, टोल विकास समिति, आमा समूह, महिला स्वयसेविका, समुदाय, विभिन्न सरकारी तथा गैरसरकारी साझेदार संघसस्था, उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, यातायात व्यवसायी प्रालिहरु तथा भेरीगंगा स्थित सबै राजनीतिक दलहरुलाई सहभागि गरिने नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए । उनले अभियानबाट संकलित फोहोरको स्रोतमै वर्गीकरण गरि कुहिने र नकुहिने फोहोरलाई व्यवस्थान गर्न समुदायको व्यवहार परिवर्तन गर्न उपयुक्त सरसफाई अभ्यासहरु अपनाउन प्रोत्साहन गरिने बताए ।

‘नगरले सरसफाई व्यवस्थान तथा वातावरण प्रवद्र्धनका लागि कानून नै बनाएर नियमको पालना गर्नेलाई प्रोत्साहन तथा नगर्नेलाई दण्ड सजायको व्यवस्था गरिएको छ,’ उनले भने,’ ‘यो पवित्र बहृत सरसफाई महाअभियानमा नागरिकको उत्साहपूर्ण सहभागिताले व्यक्तिगत सरसफाई, पारिवारिक सरसफाई, सामुदायिक सरसफाई, सार्वजनिक सरसफाई र संस्थागत सरसफाईका क्षेत्रहरुमा रुपान्तरणको प्रत्याभूति गरिने छ ।’

उनले ग्रामीण क्षेत्र भन्दा बजार क्षेत्रहरुमा फोहोरमैला व्यवस्थापनमा धेरै चुनौती र समस्या देखिएकाले अभियानलाई छिन्चु, रामघाट, जहरे, झिंग्नी लगायतका बजारहरुमा बढी केन्द्रित गरिने जानकारी दिए । उनका अनुसार वर्गीकृत संकलित कुहिनेलाई फोहरलाई मल बनाउने र नकुहिनेलाई पुनः प्रयोग तथा पुनः निर्माण गर्न दिर्घकालिन समाधानका उपायहरु खोजिने छन् ।

अहिले विभिन्न सहयोगी हातहरुसँगको सहकार्य तथा समन्वयमा भेरीगंगा–१२, झिंगेनारामा फोहरमैला प्रसोधन केन्द्र निर्माण प्रक्रिया शुरु भएको नगरप्रमुख ढकालले जानकारी दिए । फोहरमैला प्रसोधन केन्द्र निर्माणका लागि हालसम्म डेढ करोड रुपैयाँ खर्च भईसकेको र थप रकमका लागि प्रदेश तथा संघीय सरकारसँग सहयोग माग गरिएको उनको भनाइ छ ।

उनले दिर्घकालिन समस्या समाधानका लागि फोहरमैला प्रसोधन केन्द्र सञ्चालनमा ल्याएर देशकै नमूना शहर बनाउने लक्ष्य रहेको बताए । आइतबार भेरीगंगा नगरपालिकाले छिन्चुमा आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न सरकारी तथा गैरसरकारी साझेदार संघसंस्थाले ‘स्वस्थ, स्वच्छ, सुरक्षित र सुन्दर’ भेरीगंगा नगर बनाउने महाअभियानमा एक्यवद्धता रहने बताएका थिए ।

Translate »