कर्णालीका स्रोत साधनको पहिचान गरी लगानी गर्न मुख्यमन्त्री शर्माको सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले देशका वित्तिय संस्थाहरु अझै जनतासम्म पुग्न नसकेको बताएका छन् । उनले वित्तिय संस्थाहरु शहर, राजमार्ग, घराना केन्द्रित भएकै कारणले सरल देख्न र चिन्न नसक्दा प्राकृतिक स्रोतसाधनमाथि उचित ढंगले लगानी हुन नसकेको जिकिर गरे ।

आज सुर्खेत वीरेन्द्रनगरमा नागरिक लगानी कोषको शाखा कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले नागरिक लगानी कोषलाई कर्णालीको स्रोतसाधनलाई पहिचान गरि लगानी गर्न सुझाव दिए ।

उनले कर्णालीको गरिवी अन्त्यका लागि प्रदेश सरकार कृषि तथा वनपैदावारमा आधारित उद्योगलाई प्रोत्साहन गर्न उपलब्ध स्रोतसाधनको परिचालन गर्न लागेको समेत जानकारी दिए ।

कर्णालीमा वित्तिय जागरण पैदा गर्नुपर्ने, उत्पादन बृद्धिमा केन्द्रित हुनुपर्ने, जनशक्तिलाई सही ढंगले परिचालन गर्नुपर्ने, प्राकृतिक स्रोत साधनलाई व्यवस्थितरुपले उपयोग गर्न केन्द्रिकृत र एकीकृत हुनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

समृद्ध र सुखारी कर्णाली अभियान अन्तर्गत प्रदेश सरकारले यस वर्षदेखि वार्षिक १० हजार बेरोजगारलाई स्वरोजगार बनाउने योजना समेत अघि बढाएको उनले जानकारी दिए ।

कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष डा.सूर्यबहादुर थापाले लगानीका अवसरहरु बढाउँदै पुँजी बजारको विकासका लागि कर्णालीमा कोषले आफ्नो क्षेत्र विस्तार गर्न लागेको बताए ।

उनले कोषद्वारा उपलब्ध १४ वटा स्किम मार्फत सेवाग्राहीलाई लाभ लिन समेत आग्रह गरे । कोषका कार्यकारी निर्देशक रमन नेपालले कर्णालीबाट संकलित पूँजी कर्णालीकै विकासमा लगाउन कम जोखिम परियोजनाको पहिचान गरि पूर्वाधार क्षेत्रमा लगानी लगाईने बताए ।

उनले २ सय ३० अर्ब बचत र लगानी गर्दै कोषले देशभर आफ्ना शाखाहरु विस्तार गर्न लागेको समेत जानकारी दिए ।

नागरिक लगानी कोषले आजबाट सुर्खेतमा विधिवतरुपले कार्यालय सञ्चालनमा ल्याएर कर्णालीका सेवाग्राहीलाई सेवा लिन काठमाडौं पुग्नुपर्ने बाध्यता अन्त्य गरेको छ ।

Translate »