एनसेलको फोरजी सेवा जुम्ला पुग्यो

जुम्ला । एनसेल आजियाटा लिमिटेडले जुम्लामा आफ्नो फोरजी सेवा पुर्‍याएको छ । कम्पनीले जुम्लाका चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा फोरजी सेवाका तीनओटा नयाँ टावर जडान गरेको हो । यससँगै एनसेलको फोरजी सेवाको पहुँच कुल जनसंख्याको ९१ दशमलव ३९ प्रतिशतमा पुगेको बताइएको छ ।

मोबाइल ब्रोडब्यान्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलंगा लगायतका स्थानीय क्षेत्र अगाडिदेखि नै लाभान्वित भइरहेको कम्पनीको भनाइ छ । यसअघि कम्पनीले भी–स्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा देशैभर स्थापना गरिएका नयाँ टावरले फोरजी सेवामा पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको कम्पनीको भनाइ छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले कम्पनीको ध्यान कनेक्टिभिटी र प्रविधिले ल्याउने अवसरसँग उपभोक्तालाई जोड्न प्रभावकारी दूरसञ्चार सञ्जाल निर्माणमा केन्द्रित रहेको बताए । उनले कम्पनीले फोरजीलाई उच्च प्राथमिकतामा राखेको बताए । ‘यो प्रविधिले गुणस्तरीय भ्वाइसका साथै उच्च गतिको मोबाइल ब्रोडब्यान्ड दुवै सेवा उपलब्ध गराउँछ,’ उनले भने ।

गत आर्थिक वर्षमा मात्रै एनसेलले देशका विभिन्न भागमा ३३८ नयाँ साइट स्थापना गरेको बताएको छ । त्यसैगरी, कम्पनीले ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ ।

Translate »