रुपैडिहा नाकाबाट दैनिक ८ हजार लिटर परीक्षण बिनै अवैध दूध भित्रिँदै

बाँके । भारतको रुपैडिहा नाकाबाट  परीक्षण बिनै अवैध रूपमा दूध भित्रिने गरेको छ ।  जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले गरेको अनुगमनमा दैनिक ८ हजार लिटर दूध बाँकेमा भित्रिने गरेको पाइएको हो ।

जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले दूधको गुणस्तरीयता जाँच र भन्सार नगरेरै भारतबाट दैनिक ८ हजार लिटरभन्दा बढी दूध अवैध रूपमा आयात भइरहेकोले जिल्लाका किसानहरूको दूध बिक्री हुन नसकेको बताए । उनले गुणस्तर परीक्षण बिनै भित्रिरहेको दूधले नेपाली उपभोक्ता, किसान र व्यवसायी सबैलाई समस्यामा पारेकोले सो रोक्न जिल्ला प्रशासनसँग माग गरिएको जनाए।

स्थानीय किसान र व्यवसायी दुवैले भारतीय गुणस्तरहीन दूधका कारण यहाँका दूध उत्पादक किसान र दूध विक्रेता दुवै पीडित बनेको बताएका छन् ।  दूधको गुणस्तरीयता जाँच र भन्सार नगरीकनै दूध आयात भइरहेकोले जिल्लाका किसानहरूको दूध बिक्री हुन नसकेको जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।

जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भण्डारीले भारतीय दुधकै कारण बाँकेमा मिल्क होलिडे ( बिक्री नहुने अवस्था) आएको गुनासो गरे । उनका अनुसार भारतबाट परीक्षण नगरेरै आइरहेको मिसावटयुक्त दूधले गर्दा एकातिर नेपाली उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ भने अर्कोतिर नेपाली किसानको दूध बिक्री हुन नसक्ने अवस्था उत्पन्न भएको छ ।

सङ्घका अनुसार हाल बाँकेमा २२ हजार लिटर दूध खपत हुने अवस्था छ भने ७ हजार लिटर अन्य जिल्लामा पठाइने गरिएको छ । तर, जिल्लामा मात्रै २४ हजार लिटर दूध उत्पादन भइरहेको र बर्दियाबाट पनि ७ हजार लिटर दूध भित्रिने गरेको छ । भारतबाट आउने अवैध र गुणस्तरहीन दूधले बजार असन्तुलित बनाइदिँदा नेपाली किसानको दूध बिक्री हुन नसकेको सङ्घको भनाई छ ।

गुणस्तरहीन र भन्सार नगरिएको भारतबाट आउने दूधको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकिने हुँदा पनि नेपाली किसानको दूध बिक्रीमा समस्या आएको व्यवसायीको भनाई छ । सोही कारणले सङ्घले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई ज्ञापन पत्र बुझाएर दूधको अवैध आयात रोक्न र गुणस्तर चेकजाँच तथा भन्सार असुल गरेर मात्रै भित्र्याउन माग गरेको छ ।

बाँकेको जमुनाहा नाका लगायत अन्य नाकाहरूबाट पनि साइकल तथा मोटरसाइकलमा धमाधम दूध नेपाल भित्रने गरे पनि कुनै पनि निकायले चेकजाँच नगर्ने गरेको सङ्घको आरोप छ ।

Translate »