मदन भण्डारी राजमार्गमा ६ वर्षदेखि कालोपत्रको काम अलपत्र

ठेकेदार कम्पनीले समयमै काम नसकेपछि सडक डिभिजनले ०७८ जेठ २७, ०७९ पुस २० र ०८० असारमा ६ महिनाका लागि तीन पटक म्याद थपिसकेको छ

सल्यान  । मदन भण्डारी राजमार्गअन्तर्गत तुलसीपुर–कालीमाटी–सुर्खेतको बोटेचौर सडक खण्डको कालोपत्रे ६ वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीले समयमै काम नसकेपछि सडक डिभिजनले ०७८ जेठ २७, ०७९ पुस २० र ०८० असारमा ६ महिनाका लागि तीन पटक म्याद थप गरिसकेको छ ।

कम्पनीले २४.६ किमि सडक कालोपत्रे गर्नुपर्नेमा अहिलेसम्म १४ किमि मात्र सडक बनाएको छ भने ९ किमि कालोपत्र गर्न बाँकी छ ।

सडक डिभिजन कार्यालय, दाङले तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी ०७४ सालमा टेन्डर आह्वान गरेको थियो । यसका लागि कालिका कन्स्ट्रक्सनले ०७४ असार २० मा सडक कालोपत्रेको सम्झौता गरेको थियो । उसले पेटी ठेकेदारलाई पटकपटक कामको जिम्मा दिँदा सडक निर्माणको काम अलपत्र परेको स्थानीयको गुनासो छ । सडक कालोपत्र गर्न ४४ करोड ५१ लाख रुपैयाँ विनियोजन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

ठेकेदारले कम्पनीले तोकेको समयमै काम नसक्दा वर्षात्को समयमा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको स्थानीय कविराज पुरीले बताए । सडकको दुरवस्थाका कारण दाङको तुलसीपुर र सल्यान खलंगाबाट कालीमाटी हुँदै सुर्खेत जाने यात्रुहरूले सास्ती भोगिरहेका छन् । ‘वर्षा सुरु भएदेखि गाडी अवरुद्ध भएका भयै छन्,’ उनले भने, ‘गाडी नचल्दा घण्टौं हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता छ ।’

सल्यान खण्डमा कालोपत्रको काम पटकपटक विभिन्न व्यक्तिलाई पेटीमा ठेक्का दिँदा ढिलाइ भइरहेको स्थानीय पुरुषोत्तम भट्टराईको भनाइ छ । उनका अनुसार अहिलेसम्म मुख्य ठेकेदारले ४ जनालाई पेटीमा ठेक्काको काम दिएका छन् । ‘कम्पनीले डिमुरेदेखि काल्चेडाँडासम्म काम गर्न बाँकी छ, वर्षाका कारण सडक हिलाम्मे हुँदा ३ किमि सडक खण्डमा त हिँड्नै गाह्रो छ,’ उनले भने, ‘मुख्य ठेकेदारले आफूले काम नगरेर पेटीमा अर्का ठेकेदारलाई कामको जिम्मा दिँदा केही ठाउँको कालोपत्रे वर्षाले उप्किएको छ, गुणस्तरहीन काम भएको भन्दै हामीले पटकपटक विरोध गरे पनि सुनुवाइ भएको छैन ।’

सडकमा हिलोका कारण दैनिकजसो गाडी फस्दा यात्रुले नै गाडी निकालेर यात्रा गर्नुपर्ने बाध्यता भएको कालीमाटी गाउँपालिका–४ काल्चेका नन्दराम बस्नेतले बताए । राजमार्गअन्तर्गतको दाङको तुलसीपुर र सुर्खेत खण्डको सबैजसो काम सकिएको दुई वर्षभन्दा बढी बित्दा पनि सल्यान खण्डमा आधा काम पनि राम्ररी नगरेको उनको आरोप छ । ‘अरूतिर कालोपत्र भइसकेकाले यात्रा सहज छ, यही खण्डमा मात्र ठेकेदारको ढिलासुस्तीका कारण हामीले वर्षौंदेखि सास्ती बेहोरिरहेका छौं,’ उनले भने, ‘सडक डिभिजनले ठेक्का तोड्नुको साटो पटकपटक म्याद थपेपछि ठेकेदारको लापरबाही बढ्दै गएको छ ।’

पहिले कोरोनाका कारण र पछिल्लो समय सामानको मूल्य बढेकाले सामग्री खरिदमा समस्या हुँदा काममा ढिलाइ भएको कालिका कम्पनीबाट पछिल्लो पटक काम गर्ने जिम्मा लिएका पेटी ठेकेदार बमबहादुर कार्कीले बताए । अहिले वर्षात्का कारण कालोपत्र गर्न समस्या भएको छ । ठेकेदार कम्पनीले गरेको कालोपत्र एक्लेबर खण्डको झन्डै ३ किमि दूरीमा उप्किएको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले जनाए । सडक निर्माणको काम छिटो सक्न र गुणस्तरीय काम गर्न पटकपटक ताकेता गरे पनि बेवास्ता भइरहेको उनको भनाइ छ ।

मुख्य ठेकेदारले पेटी ठेकेदारलाई कामको जिम्मा लगाएका कारण समस्या बल्झिएको सडक डिभिजन कार्यालयका इन्जिनियर विकेश लाखेले बताए । ‘हामीले सम्झौता गरेको ठेकेदार कम्पनीको खातामा काम गरेअनुसारको रकम पनि पठाइसकेका छौं,’ उनले भने, ‘तर मुख्य ठेकेदारले पेटी ठेकेदारलाई भुक्तानी नदिँदा काममा ढिलाइ भएको पाइयो ।’

कोरोना महामारीका कारण २ वर्ष काममा समस्या आएको हो । ‘तर त्यसयता ठेकेदारले निर्माण सामग्री नपाइएको, दक्ष कामदार नपाइएको, वर्षाका कारण काम गर्न नसकिएकोलगायत बहाना बनाइरहेका छन्,’ लाखेले भने, ‘हामीले आफैं ठेक्का तोड्न मिल्दैन, हामीले सिफारिस मात्र गर्ने हो, तर पछिल्लो समय ठेकेदारले माथिल्लो निकायमा पुगेर म्याद थप गराइरहेका छन् ।’ वर्षाका कारण कालोपत्र उप्किएको ठाउँमा ठेकेदार कम्पनीले नै मर्मत गर्ने उनको भनाइ छ । ई–कान्तिपुर

Translate »