सल्यानका ३ हजार २ सय ५९ उद्योग र वाणिज्य फर्म स्थानीय सरकारलाई हस्तान्तरण गरियो

सल्यान । सल्यानका तीन हजार २ सय ५९ वाणिज्य फर्म र उद्योग स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले १० लाख मुनिका २ हजार ८ सय ८२ फर्म र तीन लाख मुनिका तीन सय ७७ लघु, घरेलु उद्योग स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख नृपजंग शाहीले १० लाख सम्म पूँजी भएका वाणिज्य फर्म र तीन लाखसम्म पुँजी भएका लघु घरेलु उद्योगहरु सञ्चालनको अधिकारसहित स्थानीय सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले स्थानीय तहलाई नवीकरण मात्रै नभई सो लगानी भएका उद्योग र वाणिज्य फर्म दर्ता, खारेजी, नामसारी, ठाउँसारीका लागि पनि हस्तान्तरण गरिएको बताए ।
सल्यानमा जम्मा ३ हजार ५ सय २२ उद्योग मध्ये अब तीन लाख माथिका ३ हजार १ सय ४५ वटा उद्योग मात्र कार्यालय मातहतमा रहने छन । त्यस्तै १० लाख भन्दा बढी आम्दानी भएका २ सय ८५ वटा मात्रै वाणिज्य फर्म अब जिल्ला कार्यालयबाट सञ्चालन हुनेछन् । बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नतराज गौतमले स्थानीय तहमा हस्तान्तरण भएका उद्योग स्थानीय सरकारको अपनत्वमा रहनु निकै राम्रो भएको प्रतिक्रिया दिए । उ

द्योग उपभोक्ता हित संरक्षण कार्यालयमा सूचना अधिकारी ध्रुवबहाुदर खत्रीका अनुसार शारदा नगरपालिकामा ८ सय २१ वाणिज्य फर्म र ७६ उद्योग हस्तान्तरण गरिएको छ ।
त्यस्तै बागचौर नगरपालिकामा ४ सय ३० वाणिज्य फर्म र ४८ उद्योग, बनगाड कुपिण्डे नगरपालिकामा ३ सय ३९ वाणिज्य फर्म र १४ उद्योग, दार्मा गाउँपालिकामा १ सय ८० वाणिज्य फर्म र ९ उद्योग, कालिमाटी गाउँपालिकामा १ सय ६७ वाणिज्य फर्म र ७७ उद्योग, सिद्धकुमाख गाउँपालिकामा १ सय ११ वाणिज्य फर्म र २ उद्योग, कपुरकोटा गाउँपालिकामा १ सय ८६ वाणिज्य फर्म र ७३ उद्योग, कुमाख गाउँपालिकामा २ सय २६ वाणिज्य फर्म र ८ उद्योग, छत्रेश्वरी गाउँपालिकामा १ सय ९६ वाणिज्य फर्म र ३८ उद्योग एवं त्रिवेणी गाउँपालिकामा २ सय २६ फर्म र ३२ उद्योग स्थानीय तहमा हस्तान्तरण गरिएका छन् ।
कर्णाली औद्योगिक व्यवसाय ऐन २०७८ र कर्णाली प्रदेश व्यापार व्यवसाय वाणिज्य २०८० अनुसार स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । यता राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले स्थानीय तहबाट उद्योग र वाणिज्य सेवा सुरु हुनु राम्रो भएको बताए । उनले सेवाग्राहीलाई सजिलो र सरकारको राजश्वमा वृद्धि गर्न स्थानीय सरकारलाई शुभकामना दिए ।