कर्णाली र सुदूरपश्चिमका जिल्लामा एनसेलको फोरजी सेवा विस्तार

काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा ‘फोरजी’ विस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियान अन्तर्गत यी ठाउँका स्थानीयलाई फोरजी सेवा प्रदान गरेको हो ।
फोरजी सेवा सुरु गर्न एनसेलले गत महिनामा ठूलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला)मा एक–एक गरी चार वटा फोरजी बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) स्थापना गरेको थियो । भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरिएको एनसेलले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेको बताए । ‘यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पुर्याउने छ’ उनले भने । कम्पनीका अनुसार देशभर कम्पनीका ४ हजार १०० भन्दा बढी फोरजी बीटीएसहरु सञ्चालनमा छन् । ‘फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कका आकांक्षा पूरा गर्न योगदान गर्दछ’ कम्पनीले भनेको छ ।
फोरजीले प्रयोगकर्तालाई हाई–डेफिनिसन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइलहरू तत्काल आदानप्रदान लगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउँछ । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरिएको एनसेलले जनाएको छ । कम्पनीले ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको जनाएको छ । एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । ई–कान्तिपुर