थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात

नेपालगन्ज । बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् ।

नेपालगन्जमा सङ्गठित रुपमा उत्पादन हुने थारु महिलाद्वारा उत्पादित हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्ड लगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगन्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिईन् ।

‘हामीले यहाँ उत्पादन गरेर सामग्री काठमाडौं पठाउँछौं । त्यहाँबाट विदेश पठाउने काम हुन्छ,’ उनले भनिन्, ‘हस्तकला झन्झटिलो हुने भएकाले माग अनुसारको सामग्री तयार गर्न सकिरहेका छैनौं ।’ ढकिया, पेन होल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रेल लगायतका सामग्रीको धेरै माग हुने गरेको चौधरीले बताईन् ।

थारू हस्तकलाका सामग्री लोप हुँदै जान थालेपछि व्यवसाय गरिएको बताउँदै उनले यसबाट हस्तकलाको संरक्षण हुनुका साथै आम्दानीको राम्रो स्रोत बनेको बर्ताए । चौधरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले दिएको तीन महिने ‘थारु हस्तकला उत्पादन’ तालिमपछि महिलाले हस्तकलाका सामग्री उत्पादन गर्दै बिक्री गर्न थालेका हुन् ।

हस्तकलाको काम गर्न थालेपछि दुई चार हजारका लागि श्रीमानको भर पर्न नपर्ने नेपालगन्ज उपमहानगरपालिका–१२ निवासी सरिता चौधरीले जनाईन् ‘‘उत्पादित वस्तुको बजार अभाव छैन, जति उत्पादन गरे पनि बजारमा खपत हुन्छ,’ उनले भनिन्, ‘अहिले त विदेश पनि जान थालेको छ ।’ घरमै बसेर थारु महिलाले मासिक करिब १५ हजार रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका सरिताले बताईन् ।

मेहनत अनुसार कुनै महिना त्यो भन्दा पनि बढी आम्दानी हुने गरेको उनको भनाई छ । उनका अनुसार सामान बनाउन वस्तुको प्रकृति हेरेर समय लाग्ने गरेको छ । सामग्री बनाउन लाग्ने समयको आधारमा सामानको मूल्य तोक्ने गरिएको नेपालगन्ज–१२ की विद्या थारुले जनाईन् । उनका अनुसार अहिले एउटा सामानको मूल्य ३०० रुपैयाँदेखि सुरु हुन्छ ।

यस क्षेत्रका महिलाले जङ्गलबाट कुश, खर ल्याएर हस्तकलाका सामग्री बनाउने गर्दछन् ।

Translate »