कोहलपुर – नेपालगञ्ज प्रसारण लाइनको शिलान्यास हुँदै


असोज १०, बाँके । बाँके जिल्लामा लामो समयदेखि देखिँदै आएको विद्युत् समस्या समाधान गर्न कोहलपुर – नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने भएको छ ।
सो प्रसारण लाइनको बुधवार ऊर्जा मन्त्री शक्ति बहादुर बस्नेतले शिलान्यास गर्ने कार्यक्रम छ।
शिलान्यास कार्यक्रमका लागी मन्त्री बस्नेत मंगलबार नै बाँके आई पुगेका छन् । डेढ अर्ब रुपैयाँ लागतको अनुमान गरिएको उक्त आयोजनाको आज मन्त्री बस्नेतले उद्घाटन गर्नुहुने आयोजनाका प्रशासनिक प्रमुख नवराज भट्टले जानकारी दिए ।
आयोजनाको निर्माण पूरा भएपछि बाँकेको विद्युत् समस्या समाधान हुने भट्टको विश्वास छ। आयोजनाका लागि जानकी गाउँपालिका–५, बकसपुरमा सब स्टेसन निर्माण गरिने र १३२ केभीको १० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ। प्रशासनिक प्रमुख भट्टले आगामी तीन वर्षभित्र निर्माणको काम सक्ने गरी उक्त काम सम्पन्न गर्न पावर चाइना सेपको नामक कम्पनीले ठेक्का पाएको बताए।

नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाका इन्जिनियर उत्सव थापाले यो आयोजनाको निर्माणपछि ‘लो भोल्टेज र जथाभाबी विद्युत् जाने समस्या समाधान हुनुका साथै उद्योगहरू पनि ‘फुलफेज’ मा सञ्चालनमा आउने विश्वास व्यक्त गरे।
उनले यो प्रसारण लाइन निर्माण भएपछि भारतको नानपारामा निर्माणाधीन अन्तरदेशीय प्रसारण लाइनमा जोडिने र नेपाल र भारतबीच पश्चिमबाट पनि विद्युत् व्यापार सुरु गर्न सकिने सम्भावना रहेको बताए।
नेपालगञ्जमा अहिले लो भोल्टेज र जथाभाबी विद्युत् जाने समस्याले सर्वसाधारण र उद्योगी व्यवसायी निकै समस्यामा परेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घंघका अध्यक्ष टङ्क धामीले यहाँको विद्युत् समस्या समाधान हुने गरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिँदै यो आयोजना सुरु हुन लागेकोमा स्थानीय उद्योगी व्यवसायी उत्साहित भएको बताए।
उनले आयोजना सुरु हुने तर वर्षौँसम्म अलपत्र पर्ने गरेकाले समस्या समाधानमा अवरोध हुँदै आएकोले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । अध्यक्ष धामीले पछिल्लो समयमा जिल्लामा उद्योग, कलकारखाना खुल्नेक्रम बढे पनि विद्युत् लगायतका पूर्वाधार नबन्दा सञ्चालनमा कठिनाइ भइरहेको स्थानीय उद्योगी व्यवसायीको गुनासो रहेको बताए। (रेडियो नेपाल)

