फलाम खानी उत्खननको अध्ययन गरिँदै

रुकुम (पूर्व) । जिल्लाको भूमे गाउँपालिकामा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ । भूमेमा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेका हुन् ।

आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन । भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन सुरु भएको बर्ताए । हाल फलाम खानी पत्ता लागेको भनिएको ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन हुने गरेको स्थानीयले जानकारी दिए । तत्कालीन समयमा तामा खानी उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने अध्यक्ष श्रेष्ठले बताए । गत वर्ष तीनै ठाउँमा फलाम रहे नरहेको अध्ययन गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननको लागि विस्तृत अध्ययन थालिएको उनले जनाए ।

‘गत साल गरिएको अध्ययनबाट हम्रो गाउँपालिकाको झुम्लाबाङमा फलाम खानी भएको कुरा पत्ता लाग्यो,’ उनले भने, ‘झुम्लाबाङमा फलाम खानी रहेको पत्ता लगेको छ ।’ रुकुम पूर्वमा हालसम्म खानी तथा भूगर्भ विभागमले फलाम र तामा खानीको बारेमा तीन पटकसम्म अध्ययन गरिसकेको छ । रासस

Translate »