तातोपानी गाउँपालिकाका सबै घरको बिमा

जुम्ला । कर्णालीमा भूकम्प लगायतका विपद् प्रतिरोधि संरचना नभएकैले ठुलो भौतिक क्षति हुने गरेको छ । गत कार्तिक १७ गते गएको जाजरकोट भूकम्पका कारण कर्णालीमा अर्बौको भौतिक क्षति भएको छ । करिब १० हजारबढी घर पूर्ण तथा आशिंक क्षति भएका छन् । गत वर्षको असोजमा आएको बेमौसमी वर्षाले जुम्लामा सयौ घरमा क्षति गरेको थियो । परम्परागत शैलीका घर धेरै भएका कारण पनि भूकम्पले कर्णालीमा बढी क्षति पुराउने गरेको अनुमान छ ।

प्रायः विपद्बाट क्षति भएपछि नागरिकले तत्काल राहत नपाउने, पाएपनि आवश्यकता परिपुर्ति नहुने समस्या छ । गत वर्षको असोजमा आएको बाढी पहिरोले घर भत्किएका जुम्ली नागरिकले कतै बाट राहत पाउन सकेनन् ।

स्थानीय सरकारले दिएको एक त्रिपाल लगायतका सीमित लत्ता कपडाले घरको आबश्यकता पूरा गर्न सकेन् । सीमित स्रोत भएकोले पनि धेरै राहत दिन सक्ने अबस्थामा स्थानीय सरकारसँग थिएन् । बढ्दो भूकम्पिय जोखिम, बाढी पहिरोले गर्ने क्षति र बिमा नगरेका कारण नागरिकले व्यहोर्नु परेको घाटा नोक्सानलाई मध्यनजर गर्दै जुम्लाको तातोपानी गाउँपालिकाले ३३ सय घरधुरीको घर बिमा गरेको छ । बढ्दो भूकम्पीय जोखिम, बाढी पहिरोजस्ता विपद्बाट हुने आर्थिक क्षती न्यूनिकरण गर्न पालिकाभरीका सबै घरधुरीको बिमा गरेको हो ।

शिखर ईन्सारेन्स कम्पन्नीले पालिकाका कुनै घरधुरी नछुट्ने गरि एकमुष्ट ३३ सय घरधुरीको बिमा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । ‘विपद आएर क्षति भईसकेपछि पालिकाले दिएको १०÷१५ हजार राहतले कुनै आबश्यकता पूर्ति हुने देखिएन् । सबैलाई थौरै थोरै राहत दिनुभन्दा एकमुष्ट बिमा गरिदिएपछि नागरिक पनि ढुक्क पालिका पनि ढुक्क । थोरै राहत दिने झन्झटनै हट्यो,’ चौलागाईले भने, ‘त्यहि राहत दिने रकमकै बिमामा लगानी गरिएको छ । अब केही विपद्बाट घर भत्कीएको खण्डमा नागरिकले उचित राहत पाउने छन् ।’ बाढी पहिरो पछि राहत वितरणमा ढिलाई हुने, तथ्यांक संकलनमै महिना बित्ने, तत्काल राहत नपाएको भन्ने गुनासो उतिकै आउने जस्ता समस्या रहेकोले घरको बिमानै गरिदिएपछि सबै समस्याबाट मुक्त भईने उनको विश्वास छ ।

जुम्लाका ८ स्थानीय तह मध्ये घर बिमा कार्यक्रम ल्याउने तातोपानी पहिलो पालिका हो । यद्यपि ! फाटफुटमा अन्य पालिकाका केही घरहरुको बिमा भएपनि समग्र पालिकाकै घर बिमा गर्ने तातोपानी पहिलो पालिका भएको छ । घर बिमाका लागि पालिकाले प्रतिवर्ष करिब साढे १५ लाख लगानी गर्नुपर्ने देखिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले बताए । उनका अनुसार बिमा पश्चात विपन्न नागरिकलाई बढी राहत हुनेछ ।

विमा कम्पन्नी संग सम्झौता भईसकेको र केही दिनमा भुक्तानी दिईने उल्लेख गरे । यता शिखर ईन्सोरेन्स कम्पन्नी लिमिटेड कर्णाली ईन्चार्ज रिसिराम पाण्डेले पालिकाभरीकै घर बिमा गर्ने जुम्लामा तातोपानी पहिलो पालिका बनेको बताए । विभिन्न खाले जोखिम बढ्दो क्रममा छन् । ३३ सय घरधुरीका लागि प्रतिघरलाई ४६६ रुपैयाका दरले १५ लाख ३७ हजार ८ सय रुपैयाँ प्रिमियम शुल्क लाग्ने छ । त्यस बापत नागरिकले कुनै विपद्बाट क्षति भएमा ५ लाख क्षतिपुर्ति पाउने ईन्चार्ज पाण्डेले जनाए । हालसम्म जुम्लामा चार हजार ७ सय घरको घर बिमा गरिएको छ ।

Translate »