११ खाद्य उद्योग माथि कार्वाही गर्न सिफारिस


सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा ११ उद्योगको उत्पादनमा रोक लगाउन सिफारिस गरेको छ । कार्यालयले बाहिरी जिल्लामा स्थित खाद्य उद्योगहरुले मापदण्ड विपरितका वस्तु उत्पादन गरेर कणालीमा विक्री वितरण गरेको पाईएपछि ती उद्योगको उत्पादनमा रोक लगाउन सिफारिस गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै निमित्त कार्यालय प्रमुख पदम बरालले चालु आर्थिकको मंसिरसम्म मापदण्ड विपरितका ७ वटा खाद्य उद्योग माथि मुद्धा चलाउन अन्तिम तयारी भईरहेको बताए ।
उनले सुर्खेत जिल्ला अदालतबाट मापदण्ड विपरित सञ्चालित एउटा खाद्य उद्योग माथि कार्वाहीका लागि मुद्धाको अन्तिम फैसला समेत आईसकेको जानकारी दिए ।

कार्यालयबाट कर्णालीका ७ जिल्लामा ३७१ पटक बजार अनुगमन गरी २ सय ६० उद्योग, पसल, होटल रेष्टुरेन्ट तथा मिठाई पसलहरुको निरीक्षण गरिएको खाद्य निरीक्षक विवेककुमार सुवेदीले जनाए । उनले बजार निरीक्षणका क्रममा विभिन्न नमुना संकलन गरी नेपाल सरकारले तोकेको गुणस्तर अनुरुप खाद्य वस्तु उत्पादन नगर्ने उद्योग माथि खाद्य ऐन २०२३ अनुसार मुद्दा चलाएर कार्बाही गर्ने गरिएको बताए ।
मापदण्ड विपरीत सञ्चालित खाद्य उद्योगलाई कारबाही मात्र नगरी खाद्य स्वच्छता सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम समेत सञ्चालन गर्ने गरेको उनको भनाइ छ । कार्यालयले कर्णालीका सुर्खेत, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट र रुकुम पश्चिममा खाद्य वस्तुको गुणस्तर मापन र त्यसको नमुना जाँच गर्ने जिम्मा पाएको छ ।


अन्तरक्रिया कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जनताको जीवनसँग सरोकार राख्ने खाद्य स्वच्छताको गुणस्तर कायम राख्न निगरानी गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन तीनै तहका सरकार जुट्नु पर्नेमा जोड दिए । उनले खाद्य ऐन नियममा रहेका मुख्य बुँदाहरुमाथि प्रकाश पार्दै ऐनविपरित कार्य गर्नेलाई दण्ड सजाय हुने जानकारी गराए ।
जनचेतनामुलक कार्यक्रम समाजमा चेतना ल्याउनको लागि अति नै आवश्यक र सहयोगसिद्ध हुने हुँदा आगामी दिनमा अझै घनिभूत पार्दै लानुपर्ने उनको भनाइ थियो । नागरिक समाजका अगुवा तथा उपभोक्ताकर्मी पीताम्वर ढकालले खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी सचेत वर्गले सुने बुझेका जानकारी व्यवहारमा लागु गर्न सके मात्र नागरिकले प्रयोग गर्ने खाद्य वस्तुको गुणस्तर र स्वच्छता कायम हुने बताए ।

उनले आम उपभोक्तालाई आफ्नो अधिकारका लागि जागरुक बनाई खाद्य स्वच्छता र गुणस्तर कायम गराउन नियमनकारी निकायको भूमिका प्रभावकारी बनाउन आवश्यक रहेको औल्याए ।
राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकले कर्णालीमा उपभोक्ता सचेतना कार्यक्रम नहुँदा नागरिक अज्ञानताबस कमसल, मूल्यहिन र अखाद्य वस्तु प्रयोग गर्न बाध्य भएको बताए । उनले तीनै तहका नियमनकारी निकाय उपभोक्ता अधिकारप्रति बेखर हुँदा अहिलेपनि कर्णालीका नागरिकले अनाहकमा सिण्डीकेट, काटलिङ्ग जस्ता विकृतिको साम्ना गर्नु परिरहेको जानकारी दिए ।


