राष्ट्र बैंकद्वारा ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही

काठमाडौं । वित्तीय संस्थाले पालना गर्नुपर्ने नियम नमान्ने ६ बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ ।

राष्ट्र बैंकको नियम उलंघन गरेको आरोपमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलाइन्स फाइनान्सलाई सचेत गराउँदै कारबाही गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले नियम विपरीत असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन–२०७९ को निर्देशन नम्बर १५ को बुँदा नम्बर ३ (८) मा ग्राहकसँग तोकिएको भन्दा बढी प्रिमियम लिन नहुने व्यवस्था भए पनि ग्लोबल बैंकले लिएकाले यसरी सेवाग्राहीबाट असुल गरेको रकम ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई कर्जा सापटीको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेका कारण कारबाही गरेको छ ।

त्यसैगरी, पुँजी पर्याप्तता अनुपात  गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिमभारित सम्पत्ति न्यून कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेकाले हिमालयन बैंकलाई पनि कारबाही गरेको हो ।

त्यसैगरी, राष्ट्र बैंकको नीति, निर्देशन अनुसार काम नगरेको भन्दै मुक्तिनाथ विकास बैंकलाई  १० लाख रुपैयाँ जरिवाना गरेको छ भने गरिमा विकास बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठ, रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्लीलाई पनि सचेत गराएको छ । नागरिक न्यूज

Translate »