तामा उत्खननको सवाल माग मै सीमित

मुगु । कर्णाली प्रदेशको बिकट मुगु जिल्लाको पूर्वी मुगुमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फू नाम्लाङला खोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न स्थानीयले सरकारसँग पटकपटक माग गरेका भएपनि यस बारे कतै पनि सुनुवाई नभएपछि मुगालीहरूको तामा उत्खननको सवाल मागका मात्र सीमित रहेको छ ।

संघीयता लागु भएपछि तामाखानीले मान्यता पाउने र उत्खनन हुने आशमा बसेका जनताहरू संघीय सरकारले यसबारे पहल नगर्दा स्थानीय जनताको तामा उत्खनन गर्ने आश मागमा मात्र सीमित रहेको पाइएको हो ।

मुगुमकार्मारोङ गाउँपालिकाका वडा नं १, डोल्फू गाउँदेखि ५ घण्टा टाढा नाम्लाङ खोला क्षेत्रको पालाङजे, इटिङ र थोङवा भन्ने स्थानमा गरी तिन स्थानमा पुरै पहाड नै तामाखानी भएको स्थानीय बासिन्दाले बताएका छन् ।

गत वर्ष झोलुङ्गे पुल क्षेत्र विकास समितिले तामाखानी जाने डोल्फू कर्णाली नदीमा पुल बनाएपछि आउजाउमा सहज भएको छ । पहिले स्थानीय बासिन्दाले काठे पुलबाटै आउजाउ गर्थे । ‘हाम्रो तामाखानी उत्खननमा प्रदेश र संघीय सरकारले चासो दिएन,’ गाउँपालिका उपाध्यक्ष छिरिङ फुटिक लामाले भनिन्, ‘खानी नै नभएको ठाउँमा सरकारको ध्यान जान्छ, यहाँको तामाखानीमा सरकारको आँखा परेन ।’ उनका अनुसार नाम्लाङखोला क्षेत्रमा जताततै तामाखानी छन्

पहिले यहाँका ५५ घरधुरीले खानीबाट तामाका डल्ला निकालेर विभिन्न भाँडा बनाएर बेच्ने गरेको उनको भनाइ छ । भारतको अल्मोडाको तामाभन्दा यहाँको तामा उत्कृष्ट देखिएको स्थानीय बताउँछन् । पहिले यहीँको तामु उत्खनन गरी दोल्फुका लामा जातिका मानिसहरू स्थानीय परम्परागत प्रविधिले तामा उत्खनन गरी तामाका ताउला, गाग्री, हुडा, खड्बुडा बनाई साबिकका कर्णाली अञ्चलका मुगु लगायत हुम्ला,डोल्पा,कालिकोट र जुम्लामा बिक्री गर्ने गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।

तत्कालीन समय तत्कालीन समयमा तामा उत्खनन, गर्ने , प्रशोधन गरि विभिन्न भाँडाकुँडा बनाउने र बेच्ने व्यवसाय बनिसकेको थियो । सरकारले तामा उत्खननमा रोक लगाएपछि दोल्फुका लामाहरूको तत्कालीन समयमा उनीहरूको गरी खाने व्यवसायनै सङ्कटमा परेको थियो । करिब १ सय बर्ष अघि बनेका तामाका भाँडाहरू गाउँघरका दुरदराजमा अहिले पनि जस्ताका तस्तै पाउने गरिएको छ ।

सन् १९७५ देखि सरकारले डोल्फूको तामाखानी उत्खननमा प्रतिबन्ध लगाएको स्थानीय बताउँछन् । गाउँपालिकाले पनि खानी अन्वेषण गरी उत्खननका लागि खानी तथा भूगर्भ विभागमा लिखित तथा मौखिक रुपमा आग्रह गर्दै आएको जनाएको छ ।

माघ ३ गते मुगुमा कार्मारोङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलाई भेटेर लिखित रुपमा खानी अन्वेषण गरी उत्खननको माग गरेको अध्यक्ष छिरिङक्याप्ने लामाले जानकारी दिए । घिमिरेले पनि यहाँको तामाखानी अन्वेषणका लागि आगामी चालु आवमा बजेट व्यवस्था गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पनि अध्यक्ष लामाले बताए । (रेडियो नेपाल)

Translate »