दुर्गमकोको पीडा : एक कल फोन गर्न डाँडा चढ्ने की गाडी ?

मुगु । कर्णाली प्रदेशकै अत्यन्तै बिकट मानिने सोरू गाउँपालिका भित्रका अधिकांश बस्तीहरू सञ्चारको पहुँच भन्दा बाहिर रहेको पाइएको छ । सोरू गाउँपालिका करिब सबै र बस्तीलाई समेट्ने गरि निर्माण गरिएका सोरू वडा नं ८ कच्चेका कोट र वडा नं ६ पुरूमुरूको लेकमा नेपाल टेलिकमका फोरजी टावर बनेको लामो समयसम्म भइसक्दा पनि सञ्चालनमा नल्याइँदा सोरू गाउँपालिका भित्रका अधिकांश वडाहरू सञ्चारको पहुँच भन्दा बाहिर रहेका हुन् ।

सोरू गाउँपालिका वडा नं ८ तारापानीका स्थानीय प्रेम बहादुर रावल एक कल फोनका लागि पनि गाडी चढेर अन्यत्र जानु पर्ने बाध्यता रहेको गुनासो गरे । ‘आफन्तको लागि जरुरी खबर गर्न र इमेल इन्टरनेटबाट डकुमेन्ट पठाउन गाडी चढेर गमगढी जानु पर्ने बाध्यता छ ।’उनले भने । एक कल फोनबाट हुने स–सानो कामका लागि तीन चार हजार खर्च व्यर्होन बाध्य हुनुपरेको उनको गुनासो छ । ‘जान आउन गरेर एक दिनमा करिब ३ हजार खर्च हुन्छ । के गर्ने गाउँमा एक कल फोन समेत लाग्दैन । इमेल, इन्टरनेट त परको कुरा हो’ उनले गुनासो गरे ।

‘रातको समयमा आफन्त बिरामी हुँदा सुत्केरी व्यथा लाग्दा एम्बुलेन्स डाक्न समेत विकल्प छैन ।’, कालैं स्वास्थ्य चौकीका सिनियर अहेब छक्क बहादुर शाहीले सुनाए ।

‘जिल्लाकै दुर्गम बस्तीमा अवस्थित स्वास्थ्य चौकीमा हुने विभिन्न कार्यालयको काम गर्दा इमेल, इन्टरनेट आवश्यक पर्दछ के गर्ने ? कार्यालयको प्रगतिको रिपोर्टिङ गर्नु पर्छ । सम्बन्धित ठाउँमा कागजात पुर्‍याउन र जानकारी गराउन स्थलगत यात्रा गरी समय खर्चिनु पर्ने बाध्यता छ’ शाहीले गुनासो गरे । गाउँमा बस्दा कतै खबर आदान प्रदान नहुँदा गुमराह भई बस्नु पर्ने बाध्यता रहेको शाहीले दुखेसो पोख्ए ।

‘कतै एक कल फोन गर्नु पर्दा कि त अल्को डाँडो चढ्नुपर्‍यो कि त गाडीमा पैसा खर्चेर सोरूकोट र गमगढी जानू पर्ने अवस्थामा हामी छौँ’, शाहीको थप गुनासो थियो ।

कर्णाली जलपरियोजना मुगुका सब इन्जिनियर सुवास कुमार शाही आफू यस सोरू गाउँ पालिका भित्र खानेपानीका योजना अनुगमन गर्न खटिएको भए फोन टेलिफोनको असुविधाको कारण आफै गुमराहमा परेको बताए । ‘घरमा फोन गरौँ भने फोन पनि लाग्दैन ।अफिसमा अनुगमन रिपोर्ट गरौँ भने नेट चल्दैन । साँझ बिहान र फुर्सदको समयमा समाचार हेरौँ भने पनि नेट छैन । यतिकै गुम्राहमा बस्नु पर्ने यो हाम्रो बाध्यता हो’ शाहीले बताए ।

सोरूकै फोतु गाउँका बासिन्दा स्थानीय राजबहादुर शाही आफ्नो घरबाट एक कल फोन गर्न डाँडो चढ्नु परेको गुनासो गर्नुहुन्छ । ‘नेर र ताँजामा त ठ्याम्मै फोन लाग्दैन, फोतुमा पनि फोन लाग्दैन मुस्किलले घर बाहिरबाट फोन लागे पनि आवाज राम्रोसँग सुनिँदैन’ शाहीले सुनाए । सोरू गाउँपालिका भित्रका अधिकांश युवाहरू ईन्टरनेटको पहुँचबाट बाहिर हुँदा विभिन्न किसिमका जानकारी , सूचनाहरू समयमा नै पाउन नसकी विभिन्न अवसरबाट वञ्चित हुनु परेको सोरूका युवाहरूको गुनासो छ ।

सोरू गाउँपालिका भित्रका तारापानी, गिलाहाँ,नुवाकोट सीप, रूम,कच्चे,आँसीधारा, ख्याल्च, बुम्च, सिरूपाटा, ताँजा, जडेपानी फोतु लिब्रु, नेर, लगायतका दुर्गम बस्तीहरू सञ्चारको पहुँच भन्दा बाहिर रहेका छन् ।

नेपाल टेलिकमका कर्णाली प्रदेशका क्षेत्रिय निर्देशक उमेश शाह समस्या समाधानका लागि आफूहरूले काम गरिरहेको बताउनुहुन्छ । ‘नेपाल सरकारको देश भरीका सबै दुर्गम बस्तीहरूमा सञ्चारमा पहुँच पुर्‍याउने लक्ष अनुसार नेपाल टेलिकमले पनि सरकारको लक्ष पूरा गर्ने नीति अनुरूप आफू अघि बढेको छ’ उनले भने । मुगुकै खतेड गाउँपालिकाको कोटडाँडा र सुकाढिकमा हालै फोरजी सेवा बिस्तार भैसकेको उनले जानकारी दिए । सोरूमा पनि सबै बस्ती कभरेज हुने गरी संन्चार सेवा बिस्तारका लागि आफू लागि परेको निर्देशक शाहले बताउनु भयो । केही वर्ष अगाडि बनेका कच्चेकोट टावर र पुरूमुरू लेकको फोरजी टावरमा बिटियस उपकरण जडानको काम मात्र बाँकी रहेकाले त्यसलाई पुरा गर्नको लागि आवश्यक प्रक्रिया अघि बढिसकेको निर्देशक शाहको भनाई थियो ।

हाल टेलिकमसँग बिटियस उपकरणहरू अभाव रहेको र कतै जगेडा सेटहरू छन् भने त्यसको खोजी कार्य भइराखेको उनले जानकारी दिए । ‘यदि कतै नभेटिए खरिद प्रक्रियामा गएर भए पनि टावर सञ्चालन गरिनेछ ।’उनले भने । टावर सँगको लिंक बिना फोरजी सेवाको बिस्तार सम्भव नहुने भएकोले छायाँनाथ राराको थार्प मालिकी लेकमा बन्दै गरेको टावर सम्पन्न हुँदा साथ लिंक गराए मात्र कच्चेकोटको टावरले काम गर्ने निर्देशक शाहको भनाई थियो । ‘पुरूमुरू लेकको टावरसँग हुम्लाको तल्लो भेग मैलाको टावरसँग लिंक गराइने छ’, शाहले भने ।

हाल मौसम प्रतिकुलताका कारण काम कारबाहीमा केही ढिलाइ भएपनि मौसम परिवर्तन हुँदा साथ प्रक्रिया अघि बढ्ने छ । सोरू गाउँपालिका खतेड गाउँपालिकामा हाल निर्माण भैसकेका र निर्माण हुँदै गरेका फोरजी टावरहरूले कभरेज नगरेका स्थानहरूमा पुन अध्ययन गरि सबै प्रक्रिया पूरा गरी सञ्चार सम्पर्क भन्दा बाहिर रहेका बस्तीलाई पनि सञ्चारको पहुँचमा ल्याइने निर्देशक शाहले जानकारी गराए । (रेडियो नेपाल)

Translate »