जोखिमयुक्त पुलबाट त्रासपुर्ण यात्रा गर्न स्थानीय विवश

मुगु । कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुको सोरू गाउँपालिका वडा नं ६ र ९ जोड्ने सस्पेन्सन ट्रेल ब्रिज, संरक्षण अभावका कारण जीर्ण हुँदै गएको छ । पञ्चायती शासन व्यवस्थाको समयमा बनेको उक्त पुल जोखिममा परेपछि स्थानीयहरू त्रासपुर्ण यात्रा गर्न बाध्य छन् । सोरू गाउँपालिका कुलाहाँमा २०४० सालमा उक्त पुल बनेको पूर्व जिविस सभापति डिल्ली प्रसाद भट्टले जानकारी गराए ।

बिकास निर्माणको काम गर्दा अन्य क्षेत्रमा नकारात्मक प्रभाव नपरोस् भन्नका लागी आर्थिक, सामाजिक, र वातावरणीय, विज्ञहरूले वातावरणीय सर्वेक्षण गर्नुपर्ने प्रावधान भए पनि त्यसतर्फ स्थानीय स्तरमा सावधानी नअपनाइँदा कुलाहाँको पुल जोखिममा परेको भट्टले बताउनुभयो ।सोरू भेगका करिब ११ वटा वडाका झण्डै ६ दर्जन बस्तीका मानिसहरू लगायत हिउँदको समयमा सोरू तातोपानी कुण्डमा नुहाउन जाने मानिसहरू उक्त पुलबाट दैनिक ओहोरदोहोर गर्ने गरेका छन् । जोखिमयुक्त पुलबाट आउँजाउ गर्दा डर लाग्ने गरेको सोरू–८ तारा पानीका युवा प्रेमबहादुर रावलले बताए । वर्षाको समयमा कर्णाली नदीमा पानीको सतह बढ्नाले जोखिम मोलेर पुल तर्नुपर्ने रोकायाले बताए ।
पुलको तारापानी तिरका केही भाग बिछ्याइएका फलामे सामाग्री चोरी भैसकेका छन् भने छेउतिरको भागमा पुलका लठ्ठा मात्र बाँकी छन् । पुल जीर्ण हुँदै गए पनि मर्मत संहारतर्फ कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ । (रेडियो नेपाल)