राष्ट्रिय ध्वजावाहक : दश वर्षपछि जुम्ला–सुर्खेत उडान

सुर्खेत । नेपाल एयरलायन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ । सोमबार बिहान नेपालगञ्जदेखि ७ः५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले सुर्खेतको उडान भरेको हो ।

नेपाल एयरलायन्स जुम्लाका म्यानेजर देवीप्रसाद न्यौपानेले वर्षपछि सरकारी जहाजले जुम्ला–सुर्खेत उडान गरेको जानकारी दिए । सुर्खेतदेखि जुम्लाहुँदै नेपालगञ्ज उडान नियमित भर्ने बारेमा आवश्यक गृह कार्य भईरहेको म्यानेजर न्यौपानेले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले नेपाल एयरलायन्सको जहाजले जुम्ला–सुर्खेत भाडा ५ हजार ४० रुपैयाँ निर्धारण गरेको जनाए ।

स्थानीय प्रशासनका अनुसार नेपाल एयरलायन्सको नियमित उडान तालिका आइपुगेको छैन । नियमित गर्ने कि नगर्ने आगामी सोमबारको उडानले मात्र निश्चित गर्छ । अर्को सोमबारदेखि मात्र नियमित फ्लाइटको तालिका आउन सक्ने अनुमान छ ।


जुम्ला–सुर्खेत हवाई उडान नहुँदा अहिले पनि लुम्बिनी प्रदेश पुगेर कर्णाली प्रदेशको राजधानी सुर्खेत आउनुपर्ने बाध्यता छ । जुम्लामा नेपालगञ्जबाट नेपाल एयरलायन्स, सीता, समिट र तारा एयरले उडान भरिरहेका छन् ।

यसअघि सीता एयरको उडान सुर्खेत–जुम्ला गरेका थिए । नेपाल सरकारले पनि जुम्ला–सुर्खेत उडान भर्ने गरी कार्यतालिका बनाउन नेपाल एयरलायन्सलाई यसअघि नै भनिसकेको छ । नेपाल एयरलायन्सले हुम्ला–सुर्खेत उडान भर्ने काम सुरु गरिसकेको छ ।

नेपालगञ्ज–सिमकोट–नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलायन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी उडान गर्ने भरिरहेको नेपाल एयरलायन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिए ।

सिमकोट–सुर्खेत हवाई उडान भएपछि हुम्लाबासीलाई सहज भएको स्थानीय गोर्ख रोकायाले बताए । सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्जबाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत नियमित उडान हुँदा ३५ मिनेटमै पुग्ने गरिएको रोकायाको भनाइ छ । ।

Translate »