३० ट्रक अन्वेषण सामाग्री दैलेख लगिँदै

दैलेख । कर्णाली प्रदेशको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तिम चरणमा पुगेको छ। दैलेखका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा आएर रोकिएका अन्वेषणमा प्रयोग हुने उपकरणसहितका ३० वटा ट्रक दैलेख जाने तयारीमा रहेका छन् ।
नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भू–गर्भ विभागकै नाम उल्लेख गरेर अनुमति प्रदान गरेपछि ती ट्रकहरु दैलेख जाने बाटो खुलेको हो ।
बुधवार अर्थ मन्त्रालयले यो निर्णय गरेसँगै अब अन्य प्रक्रिया सुरु भएको अर्थबाट भन्सारमा पत्र जाने क्रम जारी भएकोले एक दुई दिनमा रुपैडिया नाकामा रोकिएका करिब ३० वटा उपकरणसहितका ट्रक दैलेखको लागि हिँड्ने खानी तथा भू गर्भ विभागका प्रमुख दिनेशकुमार नापीतले बताए ।

दैलेखको पेट्रोलियम अन्तिम अन्वेषण कार्यका लागि कोलकतामा ६० वटा ट्रक आइसकेका छन् । नेपालगन्जस्थित रुपैडिया नाकामा ३० वटा ट्रक रोकिएका थिए। अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गर्नका लागि बन्दोबस्तीका सामान, मेसिन औजार, उपकरणलगायत दुई सयभन्दा बढी ट्रक दैलेख आउने तयारीमा रहेको खानी तथा भू गर्भ विभागका अन्वेषण अधिकृत दिनेश कुमार त्रिपाठीले जानकारी दिए ।
जिल्लामा सामान आउने रुटहरूको सफाइ गर्ने, मोड नमिलेका स्थानमा मोड मिलाउने लगायतका अधिकांश कामहरू सम्पन्न भइसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । चीनको जिओलोजिकल सर्भे कम्पनीको नाममा भन्सार छुट पत्र तयार गरिएको भए पनि उक्त पत्रमा नेपाल सरकार खानी तथा भू–गर्भ विभागकै नाम समावेश गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा डेढ महिनाअघि नै पत्र पठाइएको थियो ।
अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्वेषणको काम सुरु हुने भएको छ । बाँकेको नेपालगन्ज–सुर्खेत–कर्णाली राजमार्ग हुँदै चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट मध्य पहाडी राजमार्गको सडक प्रयोग गरेर अन्वेषण स्थल दैलेखको जलजले आउनेछन् । यसपालिको अन्वेषणको सकारात्मक रिपोर्ट आएमा समग्र नेपालकै आर्थिक अवस्था सुधारमा यो परियोजना कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।