दिल्लीको मुख्यमन्त्री बनिन् अतिशी


नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्रीमा अतिशी मर्लेना नियुक्त भएकी छन् । उनले शनिबार मुख्यमन्त्री पदमा सपथ पनि लिएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अतिशीलाई दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले सपथ खुवाएका हुन् । उनले आजै मन्त्रिपरिषद् गठनसमेत गरेकी छन् । उनले कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतलाई मन्त्री बनाएकी हुन् । उनीहरूले पनि आजै सपथ लिएका छन् ।
असोज १ गते आम आदमी पार्टीका नेता अरविन्द केजरिवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । जेलबाट निस्किएका उनले दिल्लीका जनताले पुनः नजिताएसम्म आफू मुख्यमन्त्री नबन्ने घोषणासमेत गरेका थिए ।

