गुलियो फापर संरक्षणको अभावले लोपोन्मुख हुँदै


मुगु । पछिल्लो समय किसानले परम्परागत गुलियो फापर खेती प्रति कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ । पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ । मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापर खेती अहिले क्रमशः घट्दै गएको हो ।
गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका किसानहरूले यसलाई परम्परागत रूपमा लगाउँदै आएका थिए । तर, आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसानहरू अब अन्य नगदे बालीतर्फ आकर्षित भएका छन् । गाउँका युवा जनशक्तिले विदेश जाने प्रचलन बढेको, बजारमा प्रतिस्पर्धा र फापरको तुलनामा अन्य बालीबाट छिटो आम्दानी हुने हुँदा किसानहरूले फापरखेती गर्न छोडेका छन् ।
किसानका अनुसार, फापरखेतीबाट राम्रो उत्पादन हुँदाहुँदै पनि यसको उचित मूल्य पाउन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको बताउँछन। । ‘फापर लगाएर महिनौं कुर्यौं, तर बेच्दा लागतसमेत उठाउन गाह्रो हुन्छ,’ छायाँनाथ रारा नगरपालिका–७, टोप्लाका कृषक पर्बुजङ् शाहीले बताए ।

यसरी परम्परागत खेती घट्दै जाँदा मुगुको संस्कार र पहिचानमा असर पर्ने चिन्ता स्थानीय समुदायमा रहेको छ । उनीहरूले सरकारसँग फापरखेती प्रवर्द्धन गर्न आवश्यक सहयोग, तालिम र बजार व्यवस्थापनको माग पनि गरेका छन् । बिशेषगरी गुलियो फापर स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ । गुलियो फापर सेवनले दम , रूघा खोकी, मुटुरोग निको पार्ने परम्परागत विश्वास हुँदा हुँदै पनि उचित संरक्षण र उत्पादनको मूल्य भन्दा लागत बढी हुँदा गुलियो फापर उत्पादन प्रति चासो घटेको कृषक बताउँछन् ।
मुगुका उच्च स्थान, पिना, कोटिल्ना, मुन्दु, लिउडी, घट्टललेक, तलिलेक, रोबा, सोबा, टोप्ला , माथितुम लगायतका क्षेत्रहरूमा फापर खेतीको लागि उपयुक्त स्थान मानिन्छ । हाल तिते फापर सामान्य रूपमा गरिँदै आए पनि मिठो फापर खेती हाल फाटफुट रूपमा गर्ने गरिएको छ ।

