२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी



अस्ट्रेलिया । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन नयाँ कानुन बनाउने तयारी गरिरहेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानेसले सरकारले यस विषयमा अभिभावक, सामाजिक सञ्जाल प्लेटफर्म र विज्ञहरूसँग परामर्श गरेको बताएका छन् । आगामी हप्ता संसदमा प्रस्तुत गरिने यो कानुनले बालबालिकामा सामाजिक सञ्जालको कारण हुने ‘क्षति’ कम गर्ने लक्ष्य राखेको जनाइएको छ ।

‘यो कानुन ती आमाबाबुको लागि हो, जो आफ्ना बच्चाहरूको सुरक्षालाई लिएर चिन्तित छन्। अस्ट्रेलियाली परिवारहरूले सरकार आफ्नो पक्षमा रहेको महसुस गरून् भन्ने हामी चाहन्छौं,’ अल्बानेसले भनेका छन् ।

यो विधेयकका धेरै बुँदामा छलफल हुन अझै बाँकी छ । प्रस्तावित कानुनमा अभिभावकको सहमति भए पनि उमेरको हदमा कुनै छूट नहुने बताइएको छ। कानुन पारित भए १२ महीनाभित्र लागू हुनेछ । र, यसलाई पुनरावलोकन गर्ने व्यवस्थासमेत गरिनेछ ।

विज्ञहरूका अनुसार सामाजिक सञ्जाल प्लेटफर्मले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ भन्नेमा मतक्यै छ । तर, प्रतिबन्ध लगाउने कदमको प्रभावकारितामा फरकफरक धारणा छ । केही विज्ञहरूले यस्तो प्रतिबन्धले बालबालिकालाई टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्ममा एक्सपोजर गराउन ढिलो हुने बताएका छन्।

युरोपका देशहरूमा बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको प्रयास अधिकांश असफल भएका उदाहरण रहेका छन् । उमेर प्रमाणीकरणलाई बेवास्ता गर्न सकिने विकल्प हुँदा यसको कार्यान्वयनमा चुनौती छ ।

गत अक्टोबरमा १०० भन्दा बढी शिक्षाविद् र २० भन्दा बढी नागरिक समाजका संगठनहरूले हस्ताक्षरसहित सरकारलाई खुला पत्र पठाएका थिए । अस्ट्रेलियन चाइल्ड राइट्स टास्कफोर्सले सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध नभइ सुरक्षा मापदण्डहरू लागू गर्न आग्रह गरेको थियो।

ग्रासरुटका अभियानकर्ताहरूले भने १६ वर्षभन्दा कम उमेरका बालबालिका सुरक्षितरूपमा सामाजिक सञ्जाल प्रयाेग गर्न सक्षम नहुने दाबी गर्दै सरकारलाई प्रतिबन्धको पक्षमा लबिङ गरेका छन् । अत्यधिक सामाजिक सञ्जालको प्रयोगले बालबालिकामा मानसिक विकासमा अवरोध पुर्‍याइरहेको र मानसिक रोगको महामारी निम्त्याइरहेको उनीहरूको भनाइ छ। बीबीसीको सहयोगमा

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार
Translate »