४ वर्षीया छोरीलाई ४० हजारमा बेच्ने आमाबाबु समातिए
भुवनेश्वर, ओडिशा । भारत, ओडिशाको भुवनेश्वरमा ४ वर्षीया बालिकालाई उनका बाबुआमाले ४० हजार भारतीय रुपैयाँमा बेचेका छन् । बडागाडा प्रहरीले बालिकाको उद्धार गर्दै अनुसन्धान सुरु गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहारका आरोपित दम्पतीले आर्थिक समस्याका कारण चार वर्षीया छोरीलाई पिपिलीको एक नि:सन्तान दम्पतीलाई बेचेका थिए । दम्पतीले दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएको पाइएको छ ।
प्रहरीका अनुसार सार्थक मोहन्तीले आफ्नो घर भाडामा बस्ने दम्पतीले छोरी बेचेको आरोप लगाएकी थिइन् । बालिका बाल कल्याण समितिलाई हस्तान्तरण गरिनेछ । श्रोतका अनुसार सम्झौता गर्दा दम्पतीसँगै बिचौलिया पनि क्यामेरामा कैद भएका थिए ।
६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।