‘प्रयागराज कुम्भ मेला’ ४० करोड धार्मिक पर्यटक पुग्ने, व्यवस्थापनका गर्न अस्थायी शहर निर्माण गरिंदै

प्रयागराज (भारत)। भारतको प्रयागराज क्षेत्रमा रहेका पवित्र नदीकिनारहरूमा हिन्दू धार्मिक पर्वको लागि एउटा अस्थायी शहर निर्माण भइरहेको छ । यो यति विशाल हुने अनुमान गरिएको छ कि यसलाई अन्तरिक्षबाट पनि देख्न सकिन्छ। यसलाई इतिहासकै सबैभन्दा ठूलो मानव भेला मानिएको छ।

हरेक १२ वर्षमा यहाँका गङ्गा, यमुना, र पौराणिक सरस्वती नदीहरूको सङ्गम स्थलमा धार्मिक स्नान र अनुष्ठान हुने गर्छ ।  ४२ दिन सम्म चल्ने कुम्भ मेलाको समयमा ४० करोडभन्दा बढी तीर्थयात्रीहरू जम्मा हुने र त्यसको व्यवस्थापन गर्न भारतीय अधिकारीहरूले तयारी गरिरहेको बताइएको छ । प्रयागराजका नदीहरूमा पन्टुन पुलहरू र अस्थायी संरचनाहरू लाइनपिच्छे फैलिएका छन्। यस पटकको कुम्भ मेला जनवरी १३ देखि फेब्रुअरी २६ सम्म आयोजना हुँदैछ ।

विशाल व्यवस्था र पूर्वाधार, अस्थायी शहरको निर्माण  
४, हजार हेक्टर (१५ वर्ग माइल) क्षेत्रमा फैलिएको मेलाकोलागि अस्थायी विद्युतीय संरचना, तम्बु, र अन्य पूर्वाधार निर्माणमा भइरहेका छन् । उत्तर प्रदेशको प्रयागराज (पहिले इलाहाबाद भनिने) मा म्यानहट्टनको दुई तिहाइ क्षेत्रफल बराबरको अस्थायी शहर निर्माण भइरहेको समाचारहरूमा उल्लेख छ ।

कुम्भ मेलाका प्रवक्ता विवेक चतुर्वेदीका अनुसार, “करिब ३५ देखि ४० करोड भक्तजनले मेलाको भ्रमण गर्नेछन्। यसका लागि हामीले भौतिक पूर्वाधारका सबै तयारी गरिरहेका छौँ।” मेलाको व्यवस्थापनमा सडक, प्रकाश, आवास, र ढलजस्ता सेवाहरू निर्माण गरिएका छन् । १ लाख ५० हजार शौचालय र ६८ हजार एलईडी बत्तीका खम्बा जडान गरिएको छ। सामुदायिक भान्साघरले एकै समयमा ५० हजार जनालाई खाना खुवाउन सक्छ। धार्मिक तयारीसँगै, प्रयागराजमा ठूलो पूर्वाधार सुधार भएको छ।

२०१९ मा आयोजित अर्ध कुम्भ मेलामा २४ करोड तीर्थयात्री आएका थिए। तर, यस पटकको महाकुम्भ मेलालाई अझ ठूलो उपस्थितिको अपेक्षा गरिएको छ।  इतिहासकार हेरम्ब चतुर्वेदीका अनुसार, “कुम्भ मेला खगोल विज्ञानसँग सम्बन्धित छ। जब बृहस्पतिले १२ राशि पूरा गर्छ, तब कुम्भको आयोजन हुन्छ।” मेला आयोजना गर्नु भनेको केवल धार्मिक कार्यक्रम मात्र नभई एउटा अद्वितीय सांस्कृतिक पर्व पनि हो।

पौराणिक महत्त्व
कुम्भ मेलाको जरा हिन्दू पौराणिक कथामा गडिएको छ। श्रद्धालुहरूका अनुसार, नदीमा डुबुल्की लगाउँदा पाप पखालिन्छ र मोक्ष प्राप्त हुन्छ। पौराणिक कथाअनुसार, अमरत्वको अमृत भएको कुम्भ (घडा) को लागि देवता र राक्षसबीच भएको युद्धमा अमृतका चार थोपा पृथ्वीमा खसे। तीमध्ये एक थोपा प्रयागराजमा खसेको विश्वास छ।

मेलाको मुख्य आकर्षण पवित्र नदीमा हुने विशेष स्नान हो। ९० वर्षीय नागा साधु दिगम्बर रमेश गिरीले भने, “म यहाँ जनतालाई आशीर्वाद दिन आएको हुँ। यहाँ तपाईंको हृदयमा जे चाहना छ, त्यो पूरा हुन्छ।” रासस/एएफपी

Translate »