ट्राफिक प्रहरी कार्यालयद्वारा सुरक्षा सुरक्षाकर्मीहरुका लागि ट्राफिक सचेतना


सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सुरक्षा निकायका चालक तथा सुरक्षाकर्मीलाई लक्षित गरी डिफेन्सिभ ड्राइभिङ्ग, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम सम्बन्धी सचेतना प्रशिक्षण दिएको छ ।
ट्राफिक प्रहरीले सोमबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी वाहिनी मुख्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गण हे. क्या. रत्तकाली र सशस्त्र प्रहरी बल नेपाल मद्दती तथा सेवा गुल्म सुर्खेतमा कार्यरत १ सय ४१ जना सशत्र प्रहरी कर्मचारीलाई सडक सुरक्षालाई प्रभावकारी बनाउन र सम्भावित दुर्घटनाहरु रोक्न प्रशिक्षण दिएको हो ।
प्रशिक्षणमा सुरक्षाकर्मीलाई ट्राफिक सचेतनासँगै सडक सुरक्षा, दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको कडाइका साथ पालना तथा भीडभाड व्यवस्थापन जस्ता विषयहरूमा केन्द्रित रहेको ट्राफिक कार्यालयले जनाएको छ । डिफेन्सिभ ड्राइभिङ्ग अन्तर्गत चालकले आफ्नो मात्र नभई सडकका अन्य प्रयोगकर्ता, पैदलयात्री र परिस्थितिलाई समेत विचार गरी सुरक्षित तरिकाले सवारी साधन चलाउने सीप सिकाएको थियो ।


त्यस्तै प्रशिक्षणमा सम्भावित जोखिमको पूर्व अनुमान गर्ने र सुरक्षित दूरी कायम गर्ने तरिकाहरु समावेश गरिएका थिए । सडकको अवस्था, सवारी साधनको अवस्था र चालकको लापरवाहीका कारण हुने दुर्घटनाहरु कसरी कम गर्न सकिन्छ भन्ने बारेमा विस्तृत कक्षा सञ्चालन गरिएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक टोपबहादुर महतराले बताए ।
उनले ट्राफिक नियम तथा सचेतनाः सडक लेनको अनुशासन, ट्राफिक संकेतको पालना, गति नियन्त्रण र सवारी चलाउँदा अपनाउनुपर्ने सावधानीहरुका बारे जानकारी दिइएको जनाए । सडकमा सुरक्षित यात्रासँगै दुर्घटनाबाट बच्न अपनाउनुपर्ने उपायहरु सम्बन्धी विशेष जानकारी ट्राफिक कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) रोहितकुमार शाहीले दिएका थिए ।
यसअघि पनि ट्राफिक कार्यालयद्वारा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतना प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।


