वैदेशिक रोजगारीमा महिलाका चुनौती

कोक्रो हल्लाउने हातले विश्व हल्लाउन सक्छ भन्ने कुरा अहिले राजनीतिक, आर्थिक, सामाजिक, वैज्ञानिक आदि क्षेत्रमा महिलाहरूका सन्दर्भमा सार्थक देखिन थालेको छ । केही दशकपूर्वसम्म चूल्होचौकामा मात्र सीमित हुने महिलाको श्रम र शीप अहिले विश्वबजारमा सजिलै बिक्न पुगेको छ । अहिले उनीहरू घरभित्र मात्र सीमित छैनन् । भाषा, कला, साहित्य, प्रविधिमार्फत आफ्नो पहिचान विश्वसामु दिँदै आएका छन् । नेपाली महिला पनि अहिले विश्वका थुप्रै देशमा पुगेर आर्थिक अवस्था बलियो पार्न प्रयासरत छन् । आफ्नो परिवारको भविष्यको चिन्ताले पनि उनीहरूको मन बढी कठोर र संघर्षशील बनेको छ ।

भिन्न संस्कृति, भाषा र परिवेशमा पुगेर पनि नेपाली महिलाले आफ्नो श्रम र शीपलाई विदेशी भूमिमा खर्चिरहेका छन् । त्यसैले दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि विदेशिने महिलाको संख्या बढिरहेको छ । तर, वैदेशिक रोजगारीमा जाने महिलाको दक्षता, अनुभव र शीप कम भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौतीपूर्ण र सकसपूर्ण बनेको छ । सरकारले शीपमूलक जनशक्ति तयार पार्न प्राथमिकता दिए पनि त्यो त्यति प्रभावकारी बन्न सकेको छैन । विदेश जाने अधिकांश महिला शीपविना नै जाने गरेका छन् । यस कारण उनीहरू समस्यामा परेको देखिन्छ ।

वैदेशिक श्रममा जाने महिलामा पुरूषको तुलनामा शीप र दक्षता कमी भएको अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा जाने महिलामध्ये ५९ प्रतिशत अदक्ष रहेको पाइन्छ । कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत त कुनै शीपविना नै विदेश गएको तथ्य प्रकाशमा आउनु राम्रो होइन । त्यसमा उच्च दक्षता भएका महिलाको संख्या शून्य दशमलव शून्य ६ प्रतिशतमात्र रहेको छ । उच्च दक्षतायुक्त शीप भएका पुरुषको संख्या पनि शून्य दशमलव शून्य ५ प्रतिशतमात्र रहेको देखिन्छ । बितेका ३ वर्षमा पेशाविद्का रूपमा श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएका महिला शून्य दशमलव ३० प्रतिशत छन् भने सोही पेशामा जाने पुरुषको संख्या शून्य दशमलव ११ प्रतिशत देखिन्छ । वैदेशिक रोजगार विभागको वार्षिक प्रतिवेदनअनुसार गतवर्ष सबैभन्दा धेरै महिला कामका लागि कुुवेत गएको देखिन्छ । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रमस्वीकृतिको प्रमुख गन्तव्यमा कतार, साउदी अरब, यूएई, मलेशिया पर्छन् । महिलाका लागि कुवेतपछिको प्रमुख गन्तव्य माल्दिभ्स, माल्टा, डेनमार्क, जर्मनी र इजरायल बनेका छन् । ती देशमा व्यक्तिगत रूपमा श्रमस्वीकृत लिनेमा ८० प्रतिशतभन्दा बढी महिला छन् । भारतसहित ६५ भन्दा बढी देशमा १ लाख ५० हजारभन्दा बढी महिला वैदेशिक रोजगारमा आबद्ध छन् । नेपाल भित्रिने कुल विप्रेषणको ११ प्रतिशत विप्रेषणमा महिला श्रमिकको योगदान रहेको देखिन्छ ।

त्यसो त वैदेशिक रोजगारीमा जाने नेपाली महिलाको सुरक्षा पनि थप चिन्ताको विषय बनेको छ । नेपाली महिलालाई सुरक्षाको दृष्टिले चुनौती देखिएका देशमा संस्थागत रूपमा भन्दा व्यक्तिगत रूपमा श्रमस्वीकृति दिनेको संख्या बढी देखिन्छ । प्राय: नेपाली महिला विदेशमा घरेलु कामदारका रूपमा वा केयरगिभरका रूपमा त्यहाँ जाने गरेको पाइन्छ । वैदेशिक रोजगारीको जिल्लागत विवरण हेर्दा झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक श्रमस्वीकृत लिनेमा अगाडि छन् । यसमा ५० प्रतिशत महिला नै झापाका छन् । वैदेशिक रोजगारीमा जाने महिलाको कुल संख्या विश्लेषण गर्दा बागमती प्रदेशका जिल्लाका महिला बढी छन् । संस्थागत तवरले श्रमस्वीकृति लिने कुल १ लाख ३२ हजार ९९५ महिलामध्ये ९२ दशमलव ३ प्रतिशत त केवल दशओटा जिल्लाले नै ओगट्छ । यसमध्ये काठमाडौं र मकवानपुर जिल्लाबाट १५–१५ प्रतिशत छन् भने झापाबाट १७ दशमलव ३४, सिन्धुपाल्चोकबाट १३ दशमलव ९४ प्रतिशत रहेको पाइन्छ । कुवेतमा घरेलु श्रमिकका रूपमा जाने नेपाली महिलाको संख्या २० हजारभन्दा बढी छ । त्यसपछि जर्मनी, डेनमार्क, माल्टा, माल्दिभ्समा बढी मात्रामा श्रमस्वीकृति लिएर जानेको संख्या देखिन्छ । स्वीडेनमा व्यक्तिगत तवरले जाने महिला बढी छन् । कुबेत, डेनमार्क, जर्मनी र इजरायलमा व्यक्तिगत श्रमस्वीकृति लिनेमा महिला ८० प्रतिशतभन्दा बढी रहेको पाइन्छ ।

नेपाली महिलाका तुलनामा अन्य देशका महिला श्रमिक तालीम प्राप्त, अनुभवी र शीपयुक्त देखिन्छन् । शीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ । यस कारण महिला बढी हिंसामा पर्न पुगेको देखिन्छ । त्यसो त जोखिम मानिएका देशमा व्यक्तिगत श्रमस्वीकृतिमा जाने महिलाको संख्या ज्यादा रहेको छ ।

वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा सबैभन्दा बढी महिलाको मृत्यु हुने देश कुवेत र यूएई देखिन्छ । त्यहाँ महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरेको बताइन्छ । रातदिन काम गरेर पनि उनीहरूले तलब पाउन सकेको देखिँदैन । वैदेशिक रोजगारमा जानेहरू म्यानपावर कम्पनीबाट नै ठगिएको समेत घटना सार्वजनिक भएका छन् । घरमालिकले जथाभावी यातना दिँदा पनि उनीहरू यातना सहन बाध्य भएको पाइन्छ । त्यसैले, विदेशमा वस्तुसरह मोलमोलाइमा नेपाली महिला कामदार बेचिएका छन् । विश्वका कतिपय देशमा उनीहरू तड्पिएर बाँच्न विवश छन् । बिरानो देश, बिरानो परिवेश, न भाषा, न संस्कृति न कानून नै मिल्छ । त्यस्तो देशमा पनि भगवान् भरोसामा रहेर नेपाली महिला श्रमिक संघर्ष गरिरहेका छन् र ज्यादै कष्टकर जीवन बिताइरहेका छन् । काम गरेको पारिश्रमिक नपाउनुको पीडा एकातिर छ भने पारिश्रमिक माग्दा उल्टै यातना पाउने गरेबाट पनि नेपाली महिला कामदारको अवस्था विदेशमा ज्यादै दयनीय रहेको प्रतीत हुन्छ । कतिपय ठाउँमा नेपाली महिला श्रमिकको भविष्य सुनिश्चित छैन । थुप्रै नेपाली महिला श्रमिक कतै केयरगिभर त कतै बार डान्सर वा घरेलु कामदारका रूपमा कार्यरत छन् ।

विश्वमा नेपालीहरू रोजगारीका लागि जाने क्रम दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । विदेशका थुप्रै मुलुकमा नेपाली कामदार विभिन्न रूपमा कार्यरत छन् । उनीहरू हिंसामा परेका छन् । त्यहाँ भएका नेपाली राजदूतावास, महावाणिज्य दूतावास तथा श्रमसहचारीले पनि ध्यान नदिएको उनीहरूको गुनासो छ । साउदी अरब, ओमान, यूएई, कतार, कुबेतमा श्रमसहचारीमात्र छन् भने कतार, साउदी अरब, यूएईमा कन्सुलर पनि छन् । जोर्डन, इराक, टर्की, सिरिया, साइप्रस, यमन, बहराइन, इरान, इजरायल, लेबनान आदि देशमा कुनै पनि राजदूत, श्रमसहचारी, महावाणिज्य दूतावास, स्थायी नियोग, कन्सुलर र श्रमसहचारी नहुँदा त्यहाँ नेपाली श्रमिकलाई ठूलो समस्या परेको छ । पछिल्लो समयमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारका क्रममा अंगभंग भएका, मृत्यु भएका र गम्भीर प्रकृतिका बिरामी भएका परिवारका एक सदस्यलाई नि:शुल्क प्राविधिक शिक्षा वा तालीम दिने व्यवस्था गरेको छ । यसबाट वैदेशिक रोजगारीमा जानेका परिवारका लागि केही भए पनि राहत मिल्ने देखिन्छ । वैदेशिक रोजगारमा जानुपूर्व विभिन्न तयारी गरेर जाने गर्दा वा सम्बद्ध म्यानपावरबाट सबै कुरा बुझेर जाने हो भने पनि केही हदसम्म महिला श्रमिकले पाउने सास्ती वा पीडा न्यून हुन्छ । त्यसैले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व सबै कुरा राम्रोसँग बुझेर जानुपर्छ भने फस्नुभन्दा पहिले नै सतर्कता अपनाउनु जरुरी देखिन्छ । त्यस्तै शीप र दक्षताविनै वैदेशिक रोजगारीमा जाँदा महिलाहरूले निक्कै सास्ती खेप्नुपर्ने भएकाले आगामी दिनमा उनीहरूले तालीम, शीप र दक्षता प्राप्त गरी जानुपर्ने देखिन्छ ।  आर्थिक अभियान

लेखक ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजुमा अध्यापन गर्दछन् ।

Translate »