

काठमाडौं । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ प्रतिशत नाघेको हो ।
कार्यालयका अनुसार आन्तरिकतर्फ १३ खर्ब ६१ अर्ब ८७ लाख रुपैयाँ र बाह्य ऋण दायित्वतर्फ १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपैयाँबराबर छ । जीडीपीका आधारमा आन्तरिक ऋण दायित्वको प्रतिशत २० दशमलव ६३ र बाह्य ऋण दायित्व २४ दशमलव ४१ प्रतिशत हुन आउँछ ।
सरकारले चालू आर्थिक वर्षका लागि ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा गत भदौ मसान्तसम्ममा ६१ अर्ब ५ करोड रुपैयाँ ऋण प्राप्ति भइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ९ दशमलव २८ प्रतिशत बराबर हो ।

कार्यालयका अनुसार यसवर्ष सरकारले आन्तरिकतर्फ ४ खर्ब १० अर्ब रुपैयाँ र बाह्यतर्फ २ खर्ब ४८ अर्ब २८ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये भदौ मसान्तसम्ममा आन्तरिकतर्फ ५० अर्ब रुपैयाँ र बाह्य ऋणतर्फ ११ अर्ब ५ करोड रुपैयाँ उठाइएको छ ।
यस अवधिसम्ममा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि पनि ठूलो रकम खर्च भएको छ । कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षका लागि सरकारी ऋणको साँवा र ब्याज तिर्न ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
जसमध्ये भदौ मसान्तसम्ममा ८५ अर्ब १ करोड ६ लाख रुपैयाँ भुक्तानी भईसकेको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा २० दशमलव ३४ प्रतिशत बराबर हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च १ दशमलव २९ प्रतिशत रहेको छ । रासस











