सामसङसँग प्रतिस्पर्धा गर्न सोनी र पानासोनिकले खडा गरेको जेओएलईडी कम्पनी टाँट पल्टियो

काठमाडौं । दक्षिण कोरियाली व्यापारिक घराना सामसङसँग प्रतिस्पर्धा गर्न पानासोनिक र सोनीले खडा गरेको कम्पनी टाँट पल्टिएको छ ।
पानासोनिक र सोनीले अर्गानिक लाइट–इटिङ डियोड डिस्प्ले (ओएलईडी)लाई गाँभेर बनाइएको कम्पनी जेओएलईडी टाँट पल्टिएको हो । सोमवार कम्पनीले टोकियो जिल्ला अदालतमा आफू टाँट पल्टिएको भन्दै अदालती संरक्षण माग्दै निवेदन दिएको छ ।
कम्पनीको कूल ३३ अर्ब ७० करोड येन (२५ करोड ७० लाख डलर) ऋण छ । जापानको डिस्प्ले उद्योग ओरालो लागेपछि यसको समस्या जेओएलईडीमा पनि पोखिएको हो । सामसङ र चिनियाँ प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न कम्पनीमा बारम्बार पुनःसंरचना र हेरफेर गरिएको थियो ।
तर, कम्पनीले ठूला ओएलईडी प्यानलको विकास मात्रै होइन, न्यून मूल्यमा यिनीहरुको उत्पादनमा नै समस्या भोग्यो । व्यवसाय टिकाउनै नसक्ने, अस्तित्वलाई जोगाउनै नसक्ने भए पनि कम्पनीले अदालतको शरणमा पुगेको हो ।

डिस्प्ले उत्पादन व्यवसायबाट हात झिकेको अनि जापानको इशिकावा र चिबा प्रिफेक्चरमा रहेका दुई कारखानाहरू बन्द गर्ने कम्पनीले बताएको छ । कम्पनीले ओएलईडी प्यानलहरू सबै बेच्दैछ । यी कारखानामा झन्डै ३८० जना कर्मचारीहरू कार्यरत् भए पनि २८० जनालाई निकालिने बताइएको छ ।
ओएलईडीको माग घटेकै अवस्थामा बजारमा प्रतिस्पर्धा चर्किएपछि कम्पनीलाई टिक्नै सकस भएको हो । कम्पनीको पूर्वशेयरधनी एवम् जापान डिस्प्ले इंकले कम्पनीको प्रविधि विकास व्यवसाय टेकओभर गर्ने भएको छ ।
कोभिडको महामारी र अन्य कठिनाइहरूले जेओएलईडीका मास प्रडक्शनमा ढिलाइ भयो । त्यसपछि विश्वभर उत्पन्न चीप अभावका कारण कम्पनी थलियो ।
सन् २०२२ को मार्चसम्ममा कम्पनीको ऋण सम्पत्तिभन्दा बढी भइसकेको थियो । सरकारी कोष आईएनसीजेले ठूलो परिमाणमा पैसा खन्याएको भए पनि जेओएलईडीले आफ्नो अस्तित्व जोगाउन सकेन ।
उक्त कोषले कम्पनीलाई १ खर्ब ४० अर्ब वित्तीय सहायता दिएको थियो । सन् २०१५ मा एशियाली प्रतिस्पर्धी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न भन्दै जेओएलईडी पानासोनिक, सोनी, आईएनसीजे र जापान डिस्प्लेले मिलेर जेओएलईडी खोलेका थिए । एजेन्सी/आर्थिक अभियान