महाराष्ट्रमा रेल दुर्घटना : १३ जनाको मृत्यु, सनाखत भएका ७ मध्ये तीन नेपाली

नयाँ दिल्ली । भारतको महाराष्ट्रमा रेल दुर्घटनामा परेर ३ जना नेपालीसहित १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । तीन नेपालीसहित ७ जना मृतकको सनाखत भइसकेको जनाइएको छ। अन्यको भने सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

उक्त दुर्घटनामा नेपालका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी, ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको जनाइएको छ । उनीहरु नेपालका कुन ठाउँका हुन् भन्ने जानकारी आएको छैन ।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलमा आगो लागेको सूचना हल्ला फैलिएपछि जलगाव जिल्लामा भागदौड मच्चिएको र अर्को लिकमा आइरहेको रेलले किचेर उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

‘रेलको कुनै डिब्बामा आगो फैलिएको सूचनापछि उक्त रेल रोकिन पुगेको थियो । रोकिएपछि यात्रुहरू भागदौड गर्न थालेका थिए । त्यही बेला अर्को लिकमा आएको कर्नाटक एक्सप्रेसको रेलमा पर्दा उनीहरूको मृत्यु भएको हो,’ प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावल गइरहेको बताइएको छ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फढणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूको उद्धार र स्वास्थ्य उपचारका निम्ति सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।  वीवीसी

Translate »