भारतको कश्मीरमा आतंकवादी आक्रमण, १ नेपालीसहित कम्तीमा २६ मारिए

 

काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । यो आक्रमण बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरुले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

आक्रमणमा परी एक कम्तीमा २६ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन् । थप १० जना घाइते भएका छन् ।

पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि बन्दुकधारीहरूले हमला गरेका थिए । यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर(ए(तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ।

सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै मृतकमध्ये एक नेपाली भनेर सन्दीप न्यौपानेको नाम उल्लेख छ तर विस्तृत विवरण छैन । घटनालगत्तै गृहमन्त्री अमित शाह कश्मीर पुगेका छन् । घाइतेहरुको अनन्तनागस्थित अस्पतालमा उपचार भइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटकमाथि गरिएको बर्बर आक्रमणलाई ‘क्रूर घटना’ भएको बताउँदै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

भारत सरकारले पछिल्ला वर्षहरुमा कश्मीरलाई पर्यटन केन्द्रका रुपमा प्रवर्द्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरुले कश्मीर भ्रमण गरेका थिए । सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो । सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतङ्कवादका कुनै पनि रुप र प्रकटीकरणको नेपाल सरकार भत्सना गर्दछ ।’

उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Translate »