अष्ट्रेलियाको संसदीय चुनावमा सत्तारुढ लेबर पार्टीलाई स्पष्ट बहुमत

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको संसदीय चुनावमा सत्तारुढ लेबर पार्टीले बहुमत हासिल गरेको छ ।

जीतसँगै प्रधानमन्त्री एन्थोनी अल्बानिजी पुनः तीन वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल लिबरलका नेता पिटर डट्टन आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका छन् ।

अन्तरराष्ट्रिय समाचार संस्थाका अनुसार १५० सिटका लागि भएको चुनावमा प्रधानमन्त्री एन्थनी अल्बनिजको दलले कम्तीमा ८७ सिटमा जित हासिल गरेको छ । १५१ सदस्यीय तल्लो सदनमा बहुमतका लागि ७६ सिट आवश्यक पर्छ ।

जितसँगै प्रधानमन्त्री अल्बनिजले दोस्रो पटक सरकार बनाउने पक्का भएको छ। अष्ट्रेलियामा संसदमा सबैभन्दा बढी सिट जित्ने पार्टीको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ । अल्बनिज सन् २०२२ देखि अष्ट्रेलियाको प्रधानमन्त्री छन् । उनी ३० वर्षदेखि सांसद निर्वाचित हुँदै आएका छन् ।

जितपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बनिजले भनेका छन्, ‘अष्ट्रेलियावासी, प्रधानमन्त्रीका रूपमा तपाईहरुको सेवा गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो ।’ चुनावमा विपक्षी नेता पिटर डटन पराजित भएका छन् । लिबरल–नेशनल गठबन्धनबाट उम्मेदवारी दिएका उनी लेबर पार्टीका उम्मेदवार अली फ्रान्ससँग पराजित भएका हुन् ।

यसैबीच, विपक्षी नेता डटनले चुनावमा आफ्नो हार स्वीकार गरेको बताएका छन् । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) को अनुमानअनुसार लेबर ८६ सिट, गठबन्धन ३९ सिट र ग्रिन्स पार्टी एक वा दुई सिट जित्ने बाटोमा छन् । अन्य साना दल र स्वतन्त्र उम्मेदवार १० सिटमा अग्रता लिइरहेका छन् ।

अस्ट्रेलियामा जनताले प्रत्यक्ष रुपमा प्रधानमन्त्रीको निर्वाचन गर्दैनन् । उनीहरुले सांसदलाई मतदान गर्छन् र सबैभन्दा बढी सिट पाउने दलको नेता प्रधानमन्त्री बन्छ । अष्ट्रेलियाको संसदीय चुनावअन्तर्गत शनिवार मतदान भएको थियो । एजेन्सी

Translate »