असार ८ गते तेस्रो संस्करणको काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन हुँदै

सुर्खेत । मिड वेस्टर्न फिटनेस सेन्टरले आयोजना गर्दै आईरहेको ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता’ ले यस वर्षपनि निरन्तरता पाएको छ ।

‘दौडिन्छ कर्णाली’ नारासहित कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको संयोजकत्वमा आयोजना हुँदै आएको प्रतियोगिताले ओलम्पिक ‘डे’ लाई ध्यानमा राख्दै यस वर्षपनि असार ८ गते सुर्खेतको वीरेन्द्रनगरमा तेस्रो एक्सट्रिम संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजकले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीबारे जानकारी दिँदै असार ४ गते बिहान काँक्रेविहार परिसरमा प्रतियोगिताको मस्कट सार्वजनिक गरिने बताएको छ । प्रतियोगिताको मुख्य दौड वीरेन्द्रचोकदेखि शुरु भएर मंगलगढी चोक हुँदै पिपिरा–सुब्बाकुनाबाट फेरी फर्किएर पुनः वीरेन्द्रचोकमै समापन हुनेछ ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, महिलातर्फ १० किलोमिटर दौड तथा विद्यार्थीका लागि ५ किलोमिटर दौड समावेश गरिएको छ । विभिन्न विधामा इच्छुक खेलाडी तथा धावकहरूले सहभागिता जनाउन सक्नेछन् । मिड वेस्टर्न फिटनेस सेन्टरका प्रबन्ध निर्देशक प्रमोद हमालका अनुसार कर्णालीमा दौड संस्कृतिको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको जनाए ।

उनले यस वर्ष न्यूनतम १ लाख २५ हजार रुपैयाँ पुरस्कार सुनिश्चित भएको जानकारी दिए । कर्णाली खेलकुद परिषद्ले जुम्लामा आयोजना हुने रारा म्याराथन र सुर्खेतको काँक्रेविहार हाफ म्याराथनलाई नियमित रूपमा बजेट उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

यस वर्षको प्रतियोगिताको टाइटल स्पोन्सर ‘एक्सट्रिम इनर्जी ड्रिंक रहेको उनले बताए ।

Translate »